काठमाडौँ, १२ कात्तिक (रासस) । विसं २०१६ जेठ १६ गते बुधबारको तत्कालीन गोरखापत्र दैनिकले आफ्नो पहिलो पृष्ठमा शीर्षकमा समाचार छाप्यो । त्यसको मुख्य शीर्षक थियो ‘नेपालको पहिलो निर्वाचित मन्त्रिमण्डल सङ्गठित ।’ अनि त्यसमा उपशीर्षकहरू राखिएको थियो– प्रधानमन्त्री श्री विश्वेश्वरप्रसाद कोइराला, उप–प्रधानमन्त्री श्री सुवर्णशमशेर र उप–मन्त्री पदमा महिला पनि ।’
त्यो उपशीर्षकमा ‘महिला पनि’ भनिएकी व्यक्ति द्वारिकादेवी ठकुरानी हुनुहुन्थ्यो । पहिलो जननिर्वाचित मन्त्रिमण्डलको नेतृत्व जननायक बिपी कोइरालाले गर्नुभएको थियो । त्यो मन्त्रिमण्डलमा बिपीले द्वारिकादेवी ठकुरानीलाई तत्कालीन ‘स्वास्थ्य र स्वायत्त’ मन्त्रालयको जिम्मेवारी दिएर उपमन्त्री बनाउनुभएको थियो ।
त्यतिबेलाको समय नै त्यस्तै थियो, विश्वका कतिपय राष्ट्रहरूमा पनि महिलालाई मतदानको अधिकारसमेत थिएन । नेपाली समाजमा पनि महिलालाई पढ्न लेख्नसमेत बन्देज गरिएको समयमा एउटा बिकट ठाउँकी महिलालाई त्यो बेला बिपीले मन्त्रीसम्म बनाउनुभयो । नेपाल मात्रै नभएर द्वारिकादेवी ठकुरानी सरकारमा पुग्ने दक्षिण एशियाकै पहिलो महिला हुनुहुन्थ्यो । देशमा प्रजातन्त्र स्थापनार्थ आफ्ना सबै निजी स्वार्थहरू त्यागेर द्वारिकादेवीहरू त्यो बेला क्रान्तिमा होमिनुभयो । त्यो पनि शिक्षा र चेतनाले पछि परेको नेपालको सुदूरपहाडको एउटा गाउँबाट ।
उहाँ डोटीको एउटा सम्पन्न ठकुरीकुलमा जन्मिनुभएको हो । त्यो बेला धनीमानीहरू घरमै गुरुहरू राखेर आफ्ना छोराछोरी पढाउने गर्थे । राणा शासनकालका बेला नेपालमा विद्यालयहरू खोल्ने र आमसर्वसाधारण नागरिकका छोराछारीले पढ्न लेख्न पाउने अधिकार थिएन । तथापि ब्राह्मण वा त्यस्तै उच्च कुल तथा हुनेखानेहरूले घरमै गुरुहरू राख्थे । वा त्यस्तै सामाजिक रुपमा चलेका गुरुकुलहरूमा आफ्ना छोराछोरी पढाउँथे । त्यो बेलासम्म पनि नेपालमा छोरीहरूलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन । तर द्वारिकादेवीका मातापिताहरूले भने घरमै संस्कृतका विद्वानहरू राखेर आफ्ना छोराछोरी पढाउने काम गर्नुभयो । त्यहीबेला द्वारिकादेवीले पनि गीता र महाभारतलगायतका ग्रन्थहरू पढ्नुभयो । आठ वर्षको उमेरमै उहाँले गीता र महाभारतका पाठहरू कन्ठस्थ पार्नुभएको थियो । घरपरिवार नै शिक्षित र सम्पन्न भएका कारण द्वारिकादेवीको कलिलो मस्तिस्कमै राजनीति र चेतनायुक्त संस्कार हुर्किसकेको थियो । त्यसपछि किशोरावस्थामा उहाँको साथसङ्गत पनि त्यस्तै हुनपुग्यो । राजनीतिक परिवारमै उहाँको विवाह भयो । त्यसले पनि उहाँलाई प्रजातन्त्रको लडाईंका लागि प्रेरित गरेको थियो ।
उहाँका बुवा खरिदार हुनुहुन्थ्यो । परिवार शिक्षा र चेतनाले सुसंस्कृत थियो । सुदुरपश्चिमा दलित तथा पिछडिएका समुदायलाई शिक्षा र राजनीतिक चेतना बढाउने काममा उल्लेख्य काम गर्नुभएको देखिन्छ । डोटी सुदूरपश्चिमको शिक्षा र राजनीति तथा प्रशासनिक केन्द्र पनि थियो । त्यहाँ विभिन्न क्षेत्रका मान्छेहरू आउजाउ गरिरहन्थे । त्यही क्रममा उद्धबबहादुर चन्द र द्वारिकादेवीबीच प्रेम सम्बन्ध भयो र त्यो विवाहमा परिणत भयो ।
२००४ सालमै उहाँको नेतृत्वमा डडेल्धुरामा हाइस्कुल स्थापना भएको थियो । त्यो बेला राणा शासनविरुद्ध विद्रोह चेतना बढिरहेको थियो र मानिसमा राजनीतिक चेतना बढ्न थालेको थियो । मुजफ्फरपुरमा बिपीसँग भेट भएपछि २००३ सालमै श्रीमान श्रीमति दुबैले कांग्रेसको सदस्यता लिनुभएको थियो । यसरी उहाँहरू प्रजातान्त्रिक आन्दोलनबाट पार्टी राजनीतिमा जोडिनुभयो । २००७ सालमा उहाँका श्रीमान उद्धबबहादुर चन्द जेल पर्नुभयो र ३२ दिनमा छुट्नुभयो । २०१० सालमा उहाँको निधन भयो ।
आफैँमा त्यसरी पिछडिएको युगमा जन्मिएकी द्वारिकादेवी मात्रै समाजसेवा र राजनीति मात्रै गर्नुभएन, देशमा प्रजातन्त्र स्थापनाका लागि उहाँले अरू क्रान्तिकारी योद्धाजस्तै बन्कुद नै बोकेर लडाईंमा होमिनुभएको थियो । बिपी कोइरालाको एक आह्वानमा उहाँले आफ्ना परिवारले राखेका बन्दुकहरू क्रान्तिकारी लडाकुहरूलाई दिनुभयो । त्यतिमात्रै होइन, उहाँले भारतमा निर्वासित रहँदा पनि नेपालका ‘मुक्ति सेना’लाई हतियार व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाली कांग्रेसले राणा र राजसँग लड्दा दुईपटक सशस्त्र क्रान्ति गरेको थियो । त्यो बेला २००९ सालमा नेपाल मुक्ति सेनाका लागि आफ्ना देवर केशबहादुर चन्दबाट बारबोर बन्दुक पनि द्वारिकाले मुक्ति सेनालाई दिएर सहयोग गर्नुभएको थियो ।
२००७ सालमा प्रजातन्त्र आए पनि नेपालमा राणा र कांग्रेस मिलेर बनेको अन्तरिम सरकारमात्रै थियो । त्यसैले नेपाली कांग्रेसले आमचुनावको माग गरिरहेको थियो । तर दरबारले चुनाव गराउन चाहेको थिएन । त्यसपछि २०१४ सालतिर नेपाली कांग्रेसले भद्र अवज्ञा आन्दोलन गरेको थियो । त्यसपछि बाध्य भएर राजाले आम चुनावको घोषणा गरे । २०१५ सालमा नेपालमा पहिलोपटक आम चुनाव भयो र त्यसमा नेपाली कांग्रेसले देशभरिका धेरै सिटमा चुनाव जित्यो । चुनाव जित्नेहरूमध्ये द्वारिकादेवी पनि एक हुनुहुन्थ्यो । विभिन्न राजनीतिक दलहरूले भाग लिएको त्यो निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई निकै लोकप्रिय मत दिएका थिए ।
बिपीका समकालीन नेता एनडी अर्थात् नारायणप्रसाद चटौतको २०१४ सालमा निधन भयो । सिमराबाट काठमाडौंँ आउने जहाज दुर्घटना भएर उहाँको निधन भएको थियो । उहाँकै स्थानमा २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले ६६ नम्बर निर्वाचन क्षेत्र डडेल्धुराबाट द्वारिकादेवीलाई उम्मेदवार बनायो । यो चुनावमा दरबारियाहरूले बुथ कब्जा गरेपछि दोस्रो चरणमा मतदान भएको थियो । यो मतदानमा संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई पराजित गरेर द्वारिकादेवी बिजयी हुनुभएको थियो । त्यो चुनाव देशभरका कूल एक सय नौ सिटमा भएको थियो । तीमध्ये नेपाली कांग्रेस ७४ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएको थियो । त्यसबेला दरबार समर्थित राष्ट्रिय गोरखा परिषदको १९, संयुक्त प्रजातन्त्र पार्टीको पाँच, नेपाल कम्युनिष्ट पार्टीको चार, आचार्य समूहको प्रजा परिषद्को दुई र अर्को मिश्र समूहको प्रजा परिषद्ले एक सिटमा जित भएको थियो । त्यो चुनावमा देशभरिबाट चार जना स्वतन्त्र उम्मेदवार बिजयी भएका थिए । देशैभरि चुनावमा उम्मेदवार भएका सात जना महिलामध्ये द्वारिकादेवीले मात्रै फराकिलो मतान्तरले चुनाव जित्नुभएको थियो ।
नेपाली कांग्रेसको त्यो लोकप्रियता र स्पष्ट दुई तिहाइ बहुमत आएको देखेपछि दरबार आफैँ तर्सिरहेको थियो । त्यसैले फेरि राजा महेन्द्रले सरकार गठनको आह्वान नै गरेनन् । कांग्रेसको दबाबपछि राजाले सरकार गठनको आह्वान गरेका थिए । त्यसअघि नै द्वारिकादेवीको अध्यक्षतामा ललिता निवासमा बसेको बैठकले बिपी कोइरालालाई नेपाली कांग्रेसको संसदीय दलको नेता र सुवर्णशमशेरलाई उपनेतामा चयन गरेको थियो । त्यसपछि कोइरालाको नेतृत्वमा सरकार गठन भयो । तर त्यसलाई पनि दरबारले धेरै टिक्न दिएन । समाजवादको लक्ष्य प्राप्तिमा बिपीको दूरदृष्टिबाट अत्तालिएको दरबारले जननिर्वाचित सरकारलाई दुई वर्ष नपुग्दै बिघटन गरेर जननिर्वाचित प्रधानमन्त्री बिपीलगायत धेरै प्रजातान्त्रिक नेताहरूलाई जेल हाल्न थाले । २०१७ पुस १ गते राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर आफँैले राजकाज चलाउन थाले ।
राजाको प्रत्यक्ष राजकाज अर्थात् पञ्चायती शासन चल्न थालेपछि नेपालका राजनीतिककर्मीहरू फेरि भारत निर्वासनमा जान थाले । कतिपयलाई राजाले जेल हालिसकेका थिए । त्यही क्रममा दरबारले द्वारिकादेवीलाई पनि पञ्चायतको समर्थन गर्न लोभलालच देखाउन थाले । उहाँका नजिकका मानिसहरूका अनुसार त्यो बेला राजाले द्वारिकादेवीलाई तिमी ठकुरीकी चेली पनि हो । उपप्रधानमन्त्री दिन्छु दरबारको पक्षमा लाग्नु भनेर भने तर उहाँले मान्नुभएन र बरु भारत निर्वासन नै रोज्नुभयो । कलकत्तामा प्रवासमा हुँदा नै उहाँलाई जयप्रकाश नारायणनले द्वारिकादेवीलाई प्रजातन्त्रप्रतिको इमान्दार नारी भनेर सममान गरेका थिए । यसबाट द्वारिकादेवी नेपाली राजनीति मात्रै होइन, विश्वस्तरीय राजनीतिक मञ्चमा पनि उत्तिकै चर्चित र सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो ।
त्योसँगै नेपाली कांग्रेसले फेरि पञ्चायतविरुद्ध आन्दोलनको घोषणा ग¥यो । त्यो आन्दोलन सशस्त्र क्रान्तिमै परिणत हुन पुग्यो । कांग्रेसका नेताहरूले पञ्चायतविरुद्ध विभिन्न क्रान्तिका कार्यक्रम घोषणा गरे । त्यसैअनुसार ठाउँ अनि क्षेत्र तोकेर नेता तथा कार्यकर्ताहरूको जिम्मेवारी तोकियो । कांग्रेसले आफ्ना निर्वाचित सांसदहरूलाई पनि विभिन्न जिम्मेवारी दिएको थियो । सोहीअनुसार २०१९ सालमा निर्वासनमा रहेका नेपाली कांग्रेसका सबै सांसदहरूलाई आआफ्नो निर्वाचन क्षेत्रको पारितिर पर्ने भारतीय भूमिमै रहेर नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्न भनिएको थियो । पार्टीले सिमानामा बसेर क्रान्ति गर्नका लागि कार्यकर्ताहरूलाई हातहतियारसमेत दिएको थियो । पार्टीको निर्णयअनुसार द्वारिकादेवीहरूलाई पनि थ्रीनट थ्री राइफलसमेत अरु चारवटा हतियार पनि दिइएको थियो ।
यसरी द्वारिकादेवी समकालीन नेपाली राजनीतिको एउटा सशक्त नारी हस्ताक्षरमात्रै होइन, राजनीतिमा समावेशिताको सिद्धान्तलाई व्यावहारिकरुपमा शुरुआत गरिएको एक बलियो उदाहरण पनि हुनुहुन्छ । आज नेपालको राजनीतिक वा हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको प्रारम्भिक चेतना र आधारस्तम्भ द्वारिकादेवीहरू नै हुनुहुन्छ । जीवनको उद्धाराद्र्धमा पारिवारिक एकलपन र पार्टीभित्रको कोपभाजनमा परेर उहाँ विरक्त हुनुभयो र त्यस्तैमा देहत्याग गर्नुभयो । द्वारिकादेवीको जन्मजयन्तीको अवसरमा उहाँ र समकालीन क्रान्तियोद्धाहरूलाई हार्दिक श्रद्धासुमन । (लेखक राजनीतिक विश्लेषक हुन्)