अर्घाखाँची, ८ माघ । यहाँको सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।
पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई पाँच हजारका दरले प्रोत्साहन रकमसहित सम्मान गरिएको वडाअध्यक्ष माधव श्रेष्ठले बताए ।
सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताए ।
नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ । त्यसैगरी, सो वडा कार्यालयले महिला स्वंयसेविकाहरुलाई पोसाकसमेत प्रदान गरेको छ । रासस