Logo

उच्च अदालतका न्यायाधीश नियुक्तिका विषयमा असार १ गते निर्णय सुनाउने



काठमाडौँ, १८ जेठ । सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाको पूर्ण इजलासले आज उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आगामी असार १ गते सुनाउने आदेश भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको, सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुङ्गाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

सो विषयमा आज वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गर्नुभएको थियो । न्यायपरिषद्ले गत पुस २९ गते उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्