Logo

निर्भिक, अठोट र सुझबुझका साथ अनुगमन गर्न निर्देशन



काठमाडौँ, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनका क्रममा आउन सक्ने चुनौतीको निरुपण सहितको योजना बनाएर काम गर्न अनुगमनमा खटिने टोली प्रमुखलाइ निर्देशन दिनुभएको छ ।

आगामी असार १४ गते हुने दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा मुलुकका ४३ जिल्लाका ४६१ स्थानीय तहमा खटिएका अनुगमन टोलीप्रमुख सँगको अन्तरक्रियामा उहाँले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई कायम राखेर निर्भिक, अठोट र सुझबुझका साथ काम गर्न सुझाव दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी असार २ गते उम्मेदवारी दर्तासँगै निर्वाचनका बारेमा उठेका सबैखाले शङ्का÷उपशङ्का स्वतः निवारण हुने बताउँदै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्नुपर्ने अवस्था आए त्यसबाट पछि नहट्न निर्देशन दिनुभयो ।

आचारसंहिताको पालन भयो÷भएन, कसबाट उल्लङ्घन भयो भन्ने बारेमा सबै खाले अभिलेख राख्न निर्देशन दिँदै उहाँले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित तुल्याउन आयोग क्रियाशील छ भन्नुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले अनुगमनमा खटिएका टोली प्रमुख आयोगको अभिन्न अङ्गका रुपमा सुम्पिएको जिम्मेवारीलाई राम्रोसँग पूरा गर्न सुझाव दिनुभयो । अनुगमन टोली प्रमुखका रुपमा निर्वाचन आयोगले दुई सचिवसहित ४३ जना सहसचिवलाई आजैबाट जिल्लामा खटाएको हो । रासस



प्रतिक्रिया दिनुहोस्