रुकुम, ४ असार । गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताउनुभएको छ ।
आज बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताउनुभयो । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ ।
स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण असोज २ गते सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताउनुभयो । “ऐन संशोधन भएपछि राष्ट्रिय जनता पार्टीले पनि निर्वाचनमा सहभागी हुन सहज हुने छ” मन्त्री शर्माले भन्नुभयो, “आज उम्मेदवारी दर्ता हुने स्थानमा राजपाले उम्मेदवारी दिने मैले विश्वास लिएको छु ।” रासस