Logo

दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि ओलीको जुँगाको ताउ समाप्त हुन्छ : पाण्डे



“चुनाव सकिएलगत्तै एमाले ‘यु–टर्न’ हुन्छ र संशोधनको पक्षमा आउँछ “

काठमाडौं, ५ असार । प्रमुख दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले अबको निर्वाचनमा आफ्नो पार्टी बलियो हुने दाबी समेत गरे । उनले भने,‘हुन त एमाले अध्यक्ष केपी ओलीले अब कांग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तिमा अब दश दिनमात्रै बाँकी छ, १६ गते असार त परिणाम नै आउँछ नि, रिजल्ट हेरेपछि उहाँहरुको मुख बन्द हुन्छ।’ उनले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै ओलीको जुँगाको ताउ सकिने समेत जिकिर गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पाण्डेले एमाले अध्यक्ष ओलीले क्याम्पस ईकाई सभापतिजस्तै गरि तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्ने गरेको आरोप लगाउँदै भने,‘खोक्रो राष्ट्रवाद र झुठो कुरा गरेर केही हुनेवाला छैन, हामी कम्तिमापनि त्यसरी तल्लो स्तरमा उत्रिन चाहेका छैनौं, अब हामी पनि टिट फर ट्याट गर्छौं।’

उनले स्थानीय तहको निर्वाचन तीन चरणमा गराउनुको प्रमुख कारण नै एमाले भएको समेत आरोप लगाए । उनले भने,‘असन्तुष्टि सम्बोधन गर्ने जिम्मा सरकारको हो, एमालेले गैर–जिम्मेवारीपन देखाएको छ।’ यद्धपी उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास आफूहरुले लिएको भएपनि त्यो पूरा नभएको जिकिर गरे ।

पाण्डेले असोज २ गतेपछि अब निर्वाचन नसर्ने समेत जिकिर गरे । ‘चुनाव भनेको म्याण्डेट लिएर आउने हो नि, त्यसैले जनतामा आफ्नो एजेण्डाहरु लिएरजानुपर्छ’ उनले भने,‘चुनाव बहिष्कार गरेर असन्र्दर्भिक काम गर्नुहुँदैन्।’

पाण्डेले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै एमालेलेपनि संविधान संशोधनको पक्षमा मत हाल्ने दाबी गरे । उनले भने,‘हेर्दै जानुहोला, एमाले अब यो निर्वाचन सम्पन्न भएलगत्तै यु–टर्न हुन्छ, उसले संविधान संशोधन गर्नको लागि पहल गर्छ।’

उनले राजपाका नेता तथा कार्यकर्ताहरुले चुनावमा भाग लिएको प्रसँगमा टिप्पणी गर्दै भने,‘चुनावमा भाग लिएका छन्।’



प्रतिक्रिया दिनुहोस्