Logo

राजपा तेस्रो चरणमा चुनावमा आउने गृहमन्त्री शर्माको विश्वास



खजुरा (बाँके), ५ असार । गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमति भई तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सो पार्टी सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
गृह मन्त्रालयको आयोजनामा आज नेपालगन्जमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले तेस्रो चरणअन्र्तगत असोज २ गते हुने प्रदेश नं २ को चुनावपछि सबै समस्याको अन्त्य भई देश नयाँ संविधान कार्यान्वयनको गतिमा अघि बढ्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनपछि स्थानीयस्तरबाट भ्रष्टाचारविरुद्ध अभियान सशक्त रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुुभयो । यही असार १४ गते हुने निर्वाचनलाई ध्यानमा राखी यस क्षेत्रअन्तर्गत छ जिल्लाको सुरक्षा अवस्था र समस्याका विषयमा केन्द्रीय सुरक्षा योजनामा थप समावेश गरी अगाडि बढाइने बताउनुभयो ।

गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा निर्वाचन आयुक्त सुधिरकुमार साहलगायतको सहभागिता थियो । गोष्ठीले निर्वाचनलाई लक्ष्य गरी विशेष योजना तयार गर्न सुझाव दिने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्