काठमाडौं, ७ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पनि प्रदेश र केन्द्रिय संसदको चुनाव मंसिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्ने र यसको लागि वर्तमान सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको चुनाव एकै चरणमा गर्दा मुलुक र जनतालाई नै फाईदा हुने विश्वास दिलाए । उनले भने,‘समयको बचत भयो, पैसाको पनि बचत हुन्छ, मुलुकलाई भार पर्दैन, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले तराई–मधेशको मुद्दा राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने,‘मधेसको मुद्दा कुनै एक पार्टीको नभएर राष्ट्रिय मुद्दा हो, संविधानमा विभेद भएमा संशोधन गरेर जान सक्ने संविधानमा स्पष्ट छ, त्यसैले संविधान संशोधनमार्फत उहाँहरुको माँग पूरा गर्नको लागि सरकारले पहल गरिरहेको छ, तर चुनाव बहिस्कार गरेर पार्टीलाई फाइदा हुँदैन, बरु जनताबाट बहिष्कार भईन्छ ।’
शर्माले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन समयमानै सम्पन्न हुने बताए । यद्धपी उनले २ नम्बर प्रदेशमा पनि असार १४ गते नै निर्वाचन गराउन नसक्नु बिडम्बना भएको टिप्पणी गरे ।
उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकी तीनै तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउने र त्यसमा शंका गर्न नहुने धारणा राखे । उनले भने,‘सरकारले निर्वाचनको वातावरण बनाउन आजभोलिबाटै काम अगाडि बढाउनुपर्छ, सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन तत्काल गर्नु पर्छ ।’
शर्माले जनसंख्याको आधारमा स्थानीय तहमको संख्या १० वा २० थप्दा कसैलाईपनि घाटा नहुने जिकिर गरे । उनले भने,‘जनसंख्याको आधारमा संख्या थप्दा कसैलाई पनि घाटा हुँदैन्।’ उनले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउनको लागि अझै समय बाँकी भएकोले यो बीचमा संविधान संशोधन र बाँकी राजनीतिक माँगहरु सम्बोधन गर्नको लागि सरकारले पहल गर्नुपर्ने सुझाव समेत दिए ।
उनले स्थानीय तहको निर्वाचनमा भएका चुनावी तालमेललाई सकारात्मक रुपमा लिनको लागि आग्रह गरे । उनले भने,‘चुनावी तालमेल भनेको फाईदाको लागि नै हो, यसले कतिपय ठाउँमा फाईदा पुगेको छ भने कतिपय ठाउँमा सोचेजस्तो भएको छैन।’