Logo

यसपालि चोरलाई चौतारो, साधुलाई सुली नहोस् : ‘प्रचण्ड’



कटारी,  ७ असार। उदयपुरकै कटारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चोरलाई चौतारो र साधुलाई सुली नगर्न मतदातालाई अपील गर्नुभयो ।

सम्बोधनमा प्रचण्डले भन्नुभयो, ‘म प्रधानमन्त्री बन्दै गर्दा देश टुक्रने त होइन भन्ने खतरा थियो । केपी ओली एउटा समुदायलाई काखा र अर्कोलाई पाखा गरेर देशमा बिखण्डनको बिउ रोपिरहनु भएको थियो । देश नै नरहने त होइन भन्ने गम्भीर चिन्ता थियो । तर, हामीले देशलाई सम्हाल्यौं । हिमाल, पहाड र तराई–मधेशबीच सुदृढ एकता कायम गरियो । देशको एकता र स्वाभिमानका लागि ठूलठूला चूनौतिहरुको सामना गरियो । रातदिन मेहेनत गरेर लोडसेडिङ अन्त्य गरियो, ७.५% आर्थिक वृद्धिदर हासिल गरियो, विकास आयोजनाले तिब्रता लिए, संविधान कार्यान्वयन र निर्वाचन सम्पन्न गरियो । यसको जस माओवादीले पाउनुपर्छ । विगतमा यो बुझाईमा अलिकति कमि भयो, यसपालि माओवादी केन्द्रलाई जिताएर देशको समृद्धि र विकासको नेतृत्व गर्ने अवसर दिनुहोस् । चोरलाई चौतारो र साधुलाई सुली नहोस् ।’

आफ्नो १० महिने प्रधानमन्त्री कालको अनुभव सुनाउँदै प्रचण्डले भन्नुभयो, ‘हिमाल, पहाड र तराई–मधेशको एकता बलियो पारिएको छ, महाकालीमा पुल, हुलाकी राजमार्ग, ओबिओआर, रेलवे लगायतका योजनाहरु सम्पन्न हुँदैछन्, नेपालमा उज्यालो युगको आरम्भ भएको छ । दुवै छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम गरिएको छ । यसलाई निरन्तरता दिन पनि माओवादीले जित्नुपर्छ, जिताउनु पर्छ । माओवादीले हार्यो भने फेरि नेपाल अध्याँरो युगमा धकेलिन सक्छ ।’

माओवादीका लागि सबै जाति, समुदाय, धर्म र भूगोल समान रहेको बताउँदै प्रचण्डले देशलाई एकताको एउटै मालामा उन्न सक्ने विचार मात्रै सक्कली राष्ट्रवाद भएको बताउनु भयो ।

कार्यक्रममा कटारी नगरपालिकाका मेयरका उम्मेदवार कृष्णप्रसाद बराल र उपमेयरका उम्मेदवार मीना कोइरालाले नगरको विकासबारे आफ्नो प्रतिवद्धता राख्नुभएको थियो ।

रामपुर, बेल्टार, गाइघाट र कटारीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलबाट विद्रोह गरी २०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्