Logo

नयाँ शक्तिको विद्यार्थी संगठन माओवादी केन्द्रमा बिलय



असार ७, काठमाडौं । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपालको विद्यार्थी संगठन नेकपा (माओवादी केन्द्र) मा बिलय भएको छ । बुधबार लाजिम्पाटमा आयोजित कार्यक्रममा नेतृ ओमकुमारी पौडेलसहितका ६ दर्जन नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नयाँ शक्ति नेपाल विद्याथी अभियानकी संस्थापक अध्यक्ष ओमकुमारी पौडेल, नयाँ शक्ति नेपालका केन्द्रीय परिषद सदस्य कमल खड्का, नयाँ शक्तिकी नेपालगञ्ज उपमहानगरपालिकाकी मेयरकी उम्मेदवार जयाकुमारी खड्का, नेताहरु युवराज दाहाल, नवराज बराल, सुमन आचार्य लगायत ६ दर्जन नेताहरु रहेका छन् ।

त्यसै गरी विप्लव नेतृत्वको नेकपाबाट मिनबहादुर चलाउने, सुमन अधिकारी, सुमन ढकाल लगायतका २ दर्जन विद्यार्थी नेताहरु पनि बुधबार नै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लवका विद्यार्थी नेताहरुले पनि एक विज्ञप्ति जारी गर्दै देश र क्रान्तिको नेतृत्व माओवादी केन्द्र र प्रचण्डबाट मात्रै सम्भव भएको भन्दै सबैलाई एकतामा आउन अपील गरेका छन् ।

कार्यक्रममा बोल्दै नेतृ ओमकुमारी पौडेलले नयाँ शक्तिले प्रतिशोधको राजनीति गरेको, माओवादी केन्द्रलाई हराउन नै आफ्नो सम्पूर्ण शक्ति लगाएको र नयाँ शक्तिबाट देशको प्रगति र विकास असम्भव भएका कारण आफूहरु माओवादी केन्द्रमा फर्किएको बताउनु भयो । पार्टी प्रवेश गर्नुपूर्व नेताहरुले सामूहिक प्रेस वक्तव्य जारी गरेका थिए ।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ढिलो चाँडो बाबुराम, वैद्य र विप्लवहरु पनि माओवादी केन्द्रमै आउने बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘माओवादी केन्द्रबाहेक अर्को बिकल्प छैन, यो देशको राजनीतिक, आर्थिक परिवर्तनका लागि बाबुरामजी, वैद्यजी, विप्लवजी पनि माओवादी केन्द्रमै फर्कनुपर्छ, त्यसबाहेक उहाँहरुको बिकल्प छैन । जहाँ गए पनि जनताले उहाँहरुलाई माओवादी नै ठान्छन्, माओवादी आन्दोलन बाहिर उहाँहरुको भविष्य छँदै छैन ।’



प्रतिक्रिया दिनुहोस्