Logo

एमालेविरुद्ध भ्रम फैलाउनेहरु जनतामा धेरै टिक्दैनन् : ओली



झापा, ८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको जिकिर गर्दै अब त्यसको रक्षा गर्न एमालेमात्र प्रतिबद्ध भएको बताएका छन् ।

बिहीबार कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै अध्यक्ष ओलीले भने,“हामीसँग क्षमता छ, योजना छ, एमालेले अब विकासको मुहार पूर्वबाट नै सुरुआत गर्नेछ ।” उनले संविधानलाई कुल्चेर अधिकारका नाममा कसैलाई पक्षपोषण गर्ने तथा देशलाई अहित हुन नदिइने प्रतिबद्धता व्यक्त समेत गरे ।

त्यस्तै गौरादहमा आज नै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा एमालेको विकासप्रतिको चाहनालाई जनताले अब मतदानबाट प्रमाणित गर्ने जिकिर गरे ।

उनले अघि भने,‘असार १४ गतेपछि तपाईंहरु विजयी प्रमाणपत्र लिनुहुन्छ, म विजय जुलुशमा सहभागी हुन आउनेछु, एमाले कस्तो पार्टी हो जनताले चिनेका छन्, आजका जनताका बीचमा भ्रम फैलाउनेहरु धेरै टिक्न सक्दैनन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले एमाले आफ्ना जनमुखी कामले र अन्य पार्टी भ्रमले चलिरहेको वताउँदै एमाले विद्ध फैलाइएका भ्रम अव नटिक्ने स्पष्ट पारे । ओलीले थपे,‘एमालेले ६० वर्ष पुगेकालाई गोली हानेर मार्छ भन्ने भ्रम फैलाएका थिए, जव जनताले एमालेको काम हेरे तव फेरि भ्रम फैलाउन आउनेहरु हेल्मेट लगाएर आउनु पर्ने अवस्थामा पुगेका छन्, हामीले ज्येष्ठ नागरिकलाई भत्ता दिनु भन्दा अगाडि बुढाबुढीलाई गोली हानेर मार्छ भन्नेहरु अहिले भ्रमका अरु पोका लिएर आउँछन, तर उनीहरु टिक्दैनन् ।’

नेपाल संविधान बनाएर संक्रमणकाल टुंग्याउने र समृद्धिको दिशामा अग्रसर भएको वताउँदै ओलीले यस्तो बेला केही दलहरुले अफ्रिकी देशहरुमाजस्तो जातीय हिंसा मच्चाउन खोजेको आरोप समेत लगाए ।
समृद्ध देश र सुखी नेपाली बाहेक एमालेको अर्काे कुनै उद्धेश्य नरहेको वताउँदै ओलीले एमालेकै पहलमा अहिले स्थानीय तहमा ४० प्रतिशत महिला नेतृत्वमा पुगेको समेत जिकिर गरे । उनले भने,‘एमालेबाहेक कुनै यस्तो पार्टी छ जसले स्थानीय तहसहित राज्यका सम्पूर्ण अंगमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन संस्थागत पहल गरेको होस् ?’



प्रतिक्रिया दिनुहोस्