Logo

डढेलधुरामा वडाध्यक्षको लागि मैदानमा स्कुल अध्यक्ष भर्सेस प्रधानाध्यापक



(चेतराज भण्डारी ) डढेलधुुरा, ९ असार । डढेलधुरा जिल्ला कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । यो जिल्लामा कांग्रेसको पकड मानिन्छ । तर, डढेलधुराका अधिकांका नगरपालिका, गाउँपालिका, वडाहरुको प्रमुख तथा उपप्रमुखमा कांग्रेस र एमालेवीच कडा टक्कर हुने देखिएको छ ।

डढेलधुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा एमालेबाट उम्मेद्धवार बनेका लक्ष्मीप्रसाद भण्डारीको कथा रोचक छ । भण्डारी वि.सं. २०३५ साल माघ २६ गते जन्मिएका हुन् । अहिले उनी ३९ वर्षका भए । तर उनले यो चार दशकमा यो गाउँपालिकाको विकासको लागि धेरै महत्वपूर्ण योगदान पुर्याएका छन् । उनी यो २ नम्बर वडा अर्थात गणेशपुरमा निकै प्रसिद्ध मानिन्छन् । यो क्षेत्रमा उनको विगत शिक्षासँग जोडिएको छ । भण्डारीले ०६३ देखि ०६५ सालसम्म दार्चुला बहुमुखी क्याम्पसमा सहायक प्रध्यापकको रुपमा काम गरेका थिए । त्यसपछि अर्थात ०६५ देखि ०६७ सालसम्म उनले सरस्वती उमावि भागेश्वर बोगाटामा नेपाली विषयको अध्यापन गराए ।

त्यसपछि अर्थात ०६७ साल देखि ०७२ साल पुससम्म उनले गणेश उमाविमा नै शिक्षकको रुपमा काम गरे थिए ।  रमाईलो त के भने उनले ०६८ साल असोज ८ गतेदेखि ०७२ साल पौस ०४ गतेसम्म सोही विद्यालयमा प्राध्यापकको रुपमा काम गरे ।

भण्डारी शिक्षण पेशाको अलावा निरन्तर रुपमा सामूदायिक सेवामा पनि सक्रिय भएर लागेका छन् । उनले गणेशपुर सामुदायिक सिकाई केन्द्रमा सदस्यको रुपमा काम गरेको पनि अनुभव छ । ०६९ सालदेखि हालसम्म पनि उनी यही सामुदायिक केन्द्रमा आवद्ध छन् । उनले यो केन्द्रमार्फत वडाको मुहारर नै फेरिदिईसकेका छन् ।

एक किसिमले भन्दा भण्डारी उक्त गाउँपालिकाका शिक्षा अभियन्ता नै हुन् । उनकै अगुवाईमा गणेशपुर जिल्लाकै पहिलो साक्षरता घोषित भएको हो । त्यस्तै गत वर्षको आर्थिक वर्ष ०७२/०७३ मा गणेशपुर जिल्लाकै पहिलो सि.एल.सिबाट सम्मानित भयो । सिएलसी घोषित भएसँगै क्षेत्रिय शिक्षा निर्दैशनालय दिपायल, डोटीबाट एक लाख रुपैयाँको राशी समेत हात पारिसकेको छ ।

त्यस्तै ०७३/०७४ मा पनि नमूना सिकाई केन्द्र बन्न सफल भएको छ । यसबापत अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले ८ लाख समेत दिइसकेको छ । त्यस्तै आर्थिक वर्ष ०७३/०७४ मा पनि २ लाखको सि.एल.सि. पुरुस्कार पाएको छ ।

गणेशरपुरका वडाध्यक्षका उम्मेद्धवार बनेका भण्डारीकै पहलमा अहिलेसम्म विभिन्न सामाजिक तथा सिपमुलक कार्यक्रमहरु समते सञ्चालन भैसकेका छन् भने कतिपय कार्यक्रमहरु अहिलेपनि सञ्चालनमा नै छन् । उनका अनुसार अहिलेसम्म ४२ साक्षर कक्ष सञ्चालन भएका छन् । त्यस्तै १२ साक्षरोक्तर कार्यक्रम सम्पन्न भएको छ, भनेर अहिले निरन्तर शिक्षा कार्यक्रम जारी छ । त्यस्तै उनले १० युवाहरुको लागि तीन महिने हाउस वेयरिङ्ख तालिम समेत निःशुल्क गरिएको जनाए ।

त्यस्तै महिलाहरुको लागि सिलाईबुनाइ कार्यक्रम पनि जारी छ । दश महिलाहरुको लागि ६ महिनाको लागि उक्त कार्यक्रम जारी रहेको छ । त्यस्तै ती महिलाहरुको लागि सिलाईबुनाई मेशिन मर्मत कार्यक्रमपनि १५ दिनको लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था आफूहरुले गरेको बताए ।

निकट भविष्यमा युवा लक्षित गरेर उद्धघोषणको तालिमपनि सञ्चालन गर्ने तयारी भैरहेको उनले जनाए । भण्डारी सक्रिय रुपमा एमालेमा लागेको भनेको ०६२/०६३ सालको जनआन्दोलनपछि मात्रै रहेछ । उनी एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कमिटि सदस्यको रुपमा सक्रिय रुपमा राजनीतिमा होमिएका हुन् । त्यसपछि उनी सोही संगठनको कोषाध्यक्ष समेत बने । संयोग कस्तो भने, उनलाई उक्त विद्यालयबाट सरुवा गरिएको थियो, तर उनले जागिर नै छोडेर स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बनेर सेवा गर्ने रुचि देखाए । गाउँवासीहरुसँगको निरन्तरको संवादपछि उनी वडाध्यक्षको उम्मेद्धवार बन्न रुचाए । त्यो पनि स्थानीय जनताहरुकै दबाबका कारण ।

नेपालीमा स्नात्तकोत्तर भण्डारीले यसको अलावा बनारसबाट संस्कृतमा शास्त्री समेत हाँसिल गरेका छन्, त्यो पनि व्याकरणमा । त्यस्तै उनले महेन्द्र संस्कृत विश्वविद्यालय कञ्चनपुर शारदा क्याम्पसबाट एक वर्षे बि.एड. समेत गरेका छन् । डढेलधुराको राजनीतिमा उनको आदर्श दार्जुलाका गणेश ठगुन्ना हुन् । ठगुन्न सांसद समेत हुन् । उनै ठकुन्नाको प्रभावमा परेर उनी एमालेको राजनीतिमा होमिएका हुन् ।

त्यस्तै एमाले शीर्ष नेतामा उनलाई पार्टी केन्द्रिय उपाध्यक्ष भीम बहादुर रावल मनपर्छ । रावल नै मन पर्नुको कारणबारे जिज्ञासा राख्दा भण्डारीले भने,“उहाँ अत्यन्तै खरो बोल्नुहुन्छ, स्पष्ट वक्ता हो, खासमा भन्दा उहाँ एमालेमा प्रखर वक्ताको रुपमा चिनिनुहुन्छ।”

भण्डारीको चुनावी एजेण्डा उनकै शब्दमा :

मेरो पहिलो प्राथमिकता भनेको नै यो गाविसका सबै वडाहरुलाई सडक सञ्जालमार्फत जोड्नु हो । खासगरी कच्ची सडकहरुलाई पिच गर्ने, नयाँ सडकहरुको ट्रयाक खोल्ने लगायत मेरो योजनाहरु छन् । सडक सञ्जाल जोड्ने उद्देश्य अनुसार मेरो पहिलो योजना छ कि रडुवाकलारीदेखि बडालसम्मको सडक र रडुवापार्खितदेखि वडासम्मको सडक आगामी ५ वर्षभित्र कालोपत्रे गर्ने रहेको छ ।

त्यस्तै, गाविसभित्रका सबे वडामा सडक ट्रयाक खोल्ने पनि मेरो योजना छ । यसको लागि म काम गर्नेछु । शिक्षा क्षेत्रको विकासको लागि मेरो यो क्षेत्रमा धेरै पहिलेदेखि ठूलो योगदान रहेको छ । मेरो पहिलो उद्देश्य भनेको गणेश उच्च माविलाई प्राविधिक शिक्षाकको धारमा लैजान रहेको छ । त्यस्तै आधारभुत प्राविलाई स्तरोन्नती गर्ने पनि अर्को चाहना छ । त्यस्तै गणेशपुर चारैतिरको केन्द्रविन्दु भएकोले यो क्षेत्रमा एउटा साँगितिक विद्यालय खोल्नेपनि मेरो अर्को योजना रहेको छ ।

कृषि तथा खेतिमा विशेष जोड दिनेछु । आधुनिक कृषि खेतिको लागि सिपमुलक तालिमदेखि अन्य सिँचाईका कार्यक्रमहरु सञ्चालनमा ल्याउनेछु । अदुवा, फलफुल उत्पादन र बजराको लागि यो क्षेत्रलाई पकेट एरिया बनाउनेछु ।

युवाहरुलाई सिपमुलक तालिम प्रदान गर्नुको साथै लघु उद्योग सञ्चालनमा ल्याउनेछु । जस्तो सावुन उद्योग खोल्नेदेखि लिएर अन्य अन्यसम्म मेरो योजनाहरु छन् ।
त्यस्तै उनको अर्को योजना भनेको जिल्लाको धार्मिक,साँस्कृतिक तथा पूरातात्विक सम्पदाको संरक्षण एवम् प्रर्वद्धन गर्नु पनि रहेको छ ।

यी माथि उल्लेखित सबै योजनाहरु वडाध्यक्षका उम्मेद्धवार भण्डारीका सपना हुन् । उनलाई वडाध्यक्षमा जितेपनि हारेपनि कुनै फरक पर्दैन् । उनले भने,“मेरो लागि जित हारले त्यति ठूलो असर पार्दैन्, मत त जनताको सेवामा सँधै समर्पित छु, जनताको सेवा र गाउँको विकास गर्नेकै लागि जित्नैपर्छ भन्नेपनि छैन, तर जनप्रतिनिधिको रुपमा काम गर्ने मेरो ठूलो धोको छ ।”

तर भण्डारी चुनाव आउँन जम्मा ४ दिनमात्रै बाँकी रहँदा आफ्नो जित अहिले नै सुनिश्चित भएको दाबी गर्छन् । फेरि भण्डारी थप्छन्,“मलाई त जित्छु नै भन्ने छ, म २ सय मतको अन्तरले जित्छु, म अहिलेपनि ढुक्क छु।” भण्डारीले आफ्नो प्रतिष्पर्धा नेपाली कांग्रेसका उम्मेद्धवारसँग भएको जनाए ।

रमाईलो त के भने भण्डारी उक्त गणेश माविको प्रधानाध्यापकको रुपमा काम गर्दा अहिले उनको प्रतिष्पर्धीको रुपमा कांग्रेसबाट वडा अध्यक्षको उम्मेद्धवार त्यतिवेला विद्यालयका अध्यक्ष थिए । अहिले यी दुईवीच एउटै वडाको अध्यक्षको लागि चुनावी प्रतिष्पर्धा हुँदैछ । हुन त भण्डारीले कांग्रेसका उम्मेद्धवारलाईपनि कमजोर आँकेका छैनन् । तर आफ्नो पक्षमा व्यापक जनसमर्थन भएकोले आफूले नै जित्ने उनको जिकिर छ।

भण्डारीका एक श्रीमति, एक छोरा र एक छोरी छन् । छोरा कक्षा ८ मा पढ्छन भने छोरी ३ कक्षामा पढ्छिन् ।



प्रतिक्रिया दिनुहोस्