Logo

सत्तारुढ दलले बुथ कब्जा गरेको एमालेको आरोप, पूनः मतदानको माँग



काठमाडौं, १४ असार ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा विभिन्न स्थानमा सत्ताको दुरुपयोग गरी बुथ कब्जा गरिएको भन्दै एमालेले त्यस्ता मतदान केन्द्रमा पुन मतदानको माग गरेको छ । तीनवटै प्रदेशको स्थानीय निर्वाचनमा सहभागि भएर मतदान गर्ने मतदाताप्रति धन्यवाद दिंदै एमालेले बुथ कब्जा भएका मतदान केन्द्रहरुको पुन मतदान माग गरेको हो ।

अछाम, डोटी, डंडेलधुरा र कैलाली लगायतका जिल्लाका मतदान केन्द्रहरुमा सत्ताको चरम दुरुपयोग गरी बुथकब्जा गरिएको भन्दै एमालेले ती मतदान केन्द्रहरुमा पुन मतदानको माग गरेको हो ।

एमालेले जारी गरेको विज्ञप्तीको पूर्णपाठ: 

स्थानीय तहको आज सम्पन्न दोस्रो चरणको निर्वाचनमा उत्साहका साथ भाग लिने राजनीतिक दलहरु, उम्मेदवारहरु, राजनीतिक कार्यकर्ताहरु र मतदाताहरुलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै, निर्वाचनका आधारभूत मूल्य र मान्यतामा बसेर निर्वाचन सम्पन्न गराउन जिम्मेवारी निर्वाह गर्ने निजामती कर्मचारी, सुरक्षाकर्मी र पर्यवेक्षकहरुरुलाई पनि धन्यवाद दिन चाहन्छ ।

लोकतन्त्रको सबभन्दा महत्वपूर्ण उत्सवका रुपमा रहेको आवधिक निर्वाचन कुनै पनि मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासको पूर्वशर्त हो । अझ स्थानीय तहमा सरकार निर्माण गर्ने यस निर्वाचनले जनताका दैनिन्दिनका समस्या समाधान गर्ने र उनीहरुलाई घरदैलोमा सरकारको अनुभूति दिलाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । डेढ दशकदेखि अवरुद्ध भइरहेको यस प्रक्रियाको नियमितताले जनतालाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने र त्यसमार्फत आफ्ना प्रतिनिधि आफैँ छान्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

यस निर्वाचनको सफलताले संविधानसभाबाट जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधान कार्यान्वयनमा ठोस योगदान पुगेको विश्वास पार्टीले लिएको छ । तर, सत्तारुढ गठबन्धनले प्रदेश नम्बर दुईका जनतालाई यस प्रक्रियाबाट अलग गर्ने जुन हर्कत गरेको छ, यसबाट उनीहरुको लोकतान्त्रिक अधिकार मात्र खोसिएको छैन, संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियामा नै गम्भीर आघात पु¥याएको छ ।

आजको निर्वाचनका क्रममा सत्तारुढ पार्टीद्वारा गरिएको सत्ताको दुरुपयोगप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौँ । अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको छ । अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी मतदान केन्द्र कब्जा गरिएको छ भने डोटीको केआई सिंह नगरपालिकामा पनि त्यस्तै गरिएको छ । अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा सत्ताको आडमा व्यापक धाँधली गरिएको छ । पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसद्बाट संसदीय छानबिन समिति बनिसकेको अवस्थामा त्यही रबैया दोहो¥याइनुले हामीलाई चिन्तित बनाएको छ । यसको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी त्यसरी सत्ता–संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गर्दछ ।

योगेश भट्टराई
प्रमुख



प्रतिक्रिया दिनुहोस्