Logo

देउवाद्धारा सुवेदीलाई राजिनामा दिन दबाब, मुख्य सचिवमा धनबहादुर कि राजेन्द्र ?



काठमाडौं, १६ असार । सेवाअवधि अझै बाँकी रहेपनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुने भएपछि अहिले मुख्य सचिवको दौडमा चार जना सचिवहरु उत्रिएका छन् ।
मुख्य सचिव सुवेदी यही साउन १ गतेदेखि फिलिपिन्सको मनिलामा एडिबीको उप–कार्यकारी निर्देशक हुँदैछन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न अहिले चार जना सचिव प्रतिस्पर्धामा उत्रिएका छन् ।

सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा सुवेदीलाई यही २८ गते नै राजिनामा गराउने पक्षमा छन् । उनी २८ गते नै विदामा बसे नेपालको ईतिहाँसमा पहिलो पटक जनजाति सचिव बन्ने बाटो खुल्नेछ । हालका भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ् मुख्य सचिव बन्ने बाटो खुल्नेछ ।

प्रधानमन्त्री देउवाले उनलाई नै मुख्य सचिवमा ल्याउन चाहेका छन् । तामाङ मुख्य सचिव भए उनीपछि हालका गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव हुने बाटो खुल्नेछ । यदि २९ गतेभित्र अर्का सचिव राजेन्द्र कुमार क्षेत्रीलाई सचिव बनाईए उनले पनि आगामी कार्तिकसम्म मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

तामाङ् र क्षेत्री मुख्य सचिव भए मुख्य सचिवका मुख्य धावेदारद्वय शान्ताराज सुवेदी र शान्ताबहादुर श्रेष्ठको बाटो स्वतः बन्द हुनेछ । हुन त सुवेदीलाई माओवादी केन्द्रले रुचाएको छ ।
अहिलेका मुख्य सचिव सुवेदी २० साउन ०७२ मा मुख्यसचिव भएका थिए । उनकोे कार्यकाल आगामी ०७५ साल साउन २० गतेसम्म थियो ।

सुवेदीले राजीनामा कहिले गर्ने भन्नेबारे अहिलेसम्म निर्णय लिएका छैनन् । अब मुख्यसचिव को हुन्छ ? यो प्रश्नको जवाफ धेरै हदसम्म सुवेदीले राजीनामा कहिले दिन्छन् भन्ने प्रश्नमा निर्भर हुनेछ । अहिले मुख्यसचिवपछि वरीयतामा सचिव तामाङ पहिलो नम्बरमा छन् ।

सुवेदीले २८ असारअघि नै राजीनामा दिएमा र सरकारले सो मितिअघि नै स्वीकृत गरेमा तामाङ मुख्यसचिव हुने बाटो स्वतः खुल्नेछ । तर, सुवेदीले राजीनामा ढिलो दिएमा अथवा ढिलो स्वीकृत भएमा तामाङको अवसर गुम्नेछ ।

यही असार २८ गते पाँचवर्षे कार्यकालका कारण तामाङ्ले अवकाश पाउने छन् । उनी ०६९ साल २८ असारमा सचिवमा वढुवा भएका हुन् । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्