Logo

अबको तीन दिनभित्रै सबै मतपरिणाम सार्वजनिक हुन्छ : प्रवक्ता शर्मा



काठमाडौं, १७ असार । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले अबको तीन दिनभित्र सबै स्थानीय तहहरुको मतपरिणाम सार्वजनिक हुने दाबी गरेका छन् ।

शनिबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रवक्ता शर्माले पहिलो चरणको निर्वाचनभन्दा दोस्रो चरणको निर्वाचनको मतपरिणाम अत्यन्तै छिटो गतिमा सार्वजनिक भैरहेको बताए । उनले भने,“दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम तिव्र छ, पहिलो चरणको भन्दा धेरै राम्रो छ।”

उनले हिजो शुक्रबारसम्म थुप्रै ठाउँहरुको मतपरिणाम सार्वजनिक भैसकेको समेत जानकारी दिए । उनले भने,“भरेसम्म सबै गाउँपालिकाहरुको मतपरिणाम सार्वजनिक हुन्छ, हामीले एक हप्ताभित्रै मतपरिणाम सार्वजनिक हुन्छ भनेर भनेका थियौं, अबको तीन दिनभित्र सबै तहहरुको मतपरिणाम सार्वजनिक हुन्छ।”

धनगढी, विराटनगर लगायतका केही महत्वपूृर्ण स्थानहरुको मतगणनामै ढिलासुस्ती भैरहेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,“हो केही ढिला भैरहेको थियो, तर हिजोबाट ६ वटा टोली बनाएर काउन्टिंग भैरहेको छ, अहिले स्पिड अप छ, चाँडै यसको पनि नतिजा आउँछ।”

उनका अनुसार विराटनगर महानगरपालिकामा मतगणना नै ढिला सुरु भएको हो । शर्माले थपे,“पहिलो दिन सझदारी हुन सकेन, यसमा निर्वाचन आयोगको मात्रै भूमिका छैन, त्यसैले अहिले विराटनगरको पनि राम्रै गतिमा नतिजा सार्वजनिक भैरहेको छ।”

उनले निर्वाचन आयोगको अबको सम्पूर्ण ध्यान भनेको तेस्रो चरणको स्थानीय तहको निर्वाचन र प्रदेश र केन्द्रिय संसदको चुनाव यही आउने माघ ७ गतेभित्रै सम्पन्न गर्नेतिर केन्द््िरत भएको जानकारी दिए । यसै उद्देश्यले हिजोमात्रै आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको पनि शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्