Logo

चुनावी नतिजामा किन पछि प¥यो माओवादी केन्द्र ? हारका कारण खोले नेता हरिबोल गजुरेलले



काठमाडौं, २० असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तहको चुनावमा पार्टीले धेरै तहमा हार्नुको कारण खुलाएका छन् ।

पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको हितमा धेरै काम गरे पनि चुनावमा मत तान्न नसक्नुमा पार्टीकै कमजोरी भएको औँल्याएका छन ।
पार्टीको नेतृत्वमा भएका कामहरु सन्तोषजनक भए पनि चुनावी नतिजमा भने माओवादीले कम भोट पाउनुमा जनतासमक्ष पार्टीले सही सुचना प्रवाह गर्न नसकेको गजुरलेको भनाई छ ।

चुनावका बेला नेपाली कांग्रेससँग भएको तालमेल पनि प्रभावकारी हुन नसकेको उनले औँल्याएका छन् । पहिलोे चरणको स्थानीय तहको चुनावमा १६ प्रतिशत मात्रै मत ल्याएको माओवादीले दोस्रो चरणमा २० प्रतिशत जित हासिल गर्ने अनुमान गरेको गजुरेलले खुलाएका छन् ।

तर आँकलन गरिए अनुसारका स्थानमा पनि माओवादीले जित्न नसकेको गजुरेलले स्विकार गरेका छन् । चुनावी नतिजाले पार्टीलाई गम्भीर बनाएको र सोही अनुसार बहस र समिक्षा भइरहेको गजुरेलले बताएका छन् । तर उनले अस्वभाविक परिणामको रुपमा भने नलिएको बताए ।

गजुरेलले पार्टी टुटफुटको सिकार भएकाले निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेको भन्दै नतिजालाई अस्वभाविक रुपमा लिन नहुने बताएका हुन् । पछिल्लो पटक छरिएर रहेका विभिन्न माओवादी पार्टीसँग भएको एकतालाई पनि तल्लो स्तरसम्म सन्देश पु¥याउन नसक्नु पार्टीको कमजोरी भएको नेता गजुरेलको ठम्याई छ ।

गजुरेलले विभन्न दलसँग एकता भएपछि पार्टीको संगठन निर्माण हुन नसक्नुले पनि कमजोर बनाएको उल्लेख गरे । उनले भने, “६ महिनासम्म केन्द्रिय सदस्य २ सय बनाउने कि, ४ हजार बनाउने वा ८ हजार बनाउने भन्नेमा टुङ्गो लागेन । ” “विवादकै बिच ६ महिनासम्म संगठनको काम रोकिनु पार्टीका लागि हानिकारक भएको हो ।” गजुरेलले भने ।

प्रधानमन्त्रीको हैसियतमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन गराउन सफल भएको उल्लेख गर्दै नेता गजुरेलले मधेशी मोर्चासँग पनि वार्ता मार्फत सहज वातावरण बनाएको दाबी गरेका छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराकै पहलमा चिनसँग वान बेल्ट रोड ओबिआर सम्झौता भएको उनको भनाई छ ।

फास्ट ट्रयाक लगायतका राष्ट्रिय गौरवका आयोजना समेत दाहाल नेतृत्वको सरकारले नै अघि बढाउन सफल भएको उनको तर्क छ । माओवादी नेतृत्वको सरकारका पालामा बन्द हडताल जस्ता गतिविधि पनि नभएको र विद्युत आपूर्तिमा भएको कुशल व्यवस्थापनले देशकै अर्थतन्त्रमा सुधार आएको गजुरेलको प्रष्टोक्ति छ ।

 



प्रतिक्रिया दिनुहोस्