Logo

अहिलेको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव ल्याए एमालेले पारित गर्छ : सचिव ज्ञवाली



काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै भने,‘अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरीकन ल्याईएको हो, हाम्रो परामर्श बिनै ल्याईएको यो प्रस्ताव कुनै पनि हालतमा हामी पास गर्न सहयोग गर्दैनौं, यदि साँच्चिकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहितका सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एमालेबाहेक नै संशोधन प्रस्तावमा दुई तिहाई पुर्याउँछौं भनेर कांग्रेस र माओवादी केन्द्रले कसम खाएको उल्लेख गर्दै भने,‘एमाले संविधान संशोधनको विपक्षमा कहिल्यैपनि छैन, तर संशोधनको औचित्य पुष्टि हुनुपर्यो भन्ने कुरा हो।’ उनले असोज २ गतेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि पनि संशोधन गर्न सकिने बताए ।

‘तेस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुनै सक्दैन त भनेर म अहिले भन्दिन्,’उनले थपे,‘तर यसको लागि सदनमा विचाराधिन रहेको संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ, अब एमालेसहित बसेर नयाँ प्रस्ताव तयार पारियो भने एमालेले पास गराउन सहयोग गर्छ।’ यद्धपी उनले माघ ७ गतेभित्रै सबै चरणको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले समयको चापलाई हेरेर अहिले संशोधनको नाममा अल्झिन नहुने धारणा राखे ।

उनले प्रदेश र केन्द्रिय संसदको चुनाव समयमै गर्नको लागि यही हप्ताभित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न समेत माँग गरे ।

उनले अहिले निर्वाचन गर्नुपर्ने प्रमुख आवश्यकत्ता भएकोले राजपालाई पनि चुनावमा सहभागी हुन आग्रह गरे । ज्ञवालीले भने,‘निर्वाचनमा सहभागी हुन जनता आँतुर छन्, त्यसैले तपाईहरु पनि सहभागी हुनुहोस्।’

हालै सम्पन्न दोस्रो चरणको निर्वाचनमा पनि तराई मधेशमा जनताहरुले उत्साहजनक सहभागिता जनाएको उल्लेख गर्दै जनताको यस्तो भावनालाई बुझेर राजपा नेपाल चुनावमा जानुपर्ने बताए । उनले चुनावमा भाग लिनेलाई कारवाही गर्छु भन्नु मुर्खता भएको समेत टिप्पणी गरे । उनले भने,‘कतिलाई कारवाही गर्नुहुन्छ, जनता चुनावमा सहभागी हुन व्यग्र प्रतिक्षा छन्, त्यसैले निर्वाचन विरोधी काम गर्नु आत्माघाती बाटोतर्फ जानु हो, त्यस्तो गल्ती कसैलेपनि गर्नुहुँदैन्।’

उनले पछिल्लो समय राजपा नेपाल र एमालेवीच सम्बन्ध सुधारको प्रयास भैरहेको समेत जानकारी दिए । ज्ञवालीले भने,‘हामी उहाँहरुसँग सम्बाद गर्न तयार छौं, एमाले वार्ता तथा सम्वादको लागि सँधै खुल्ला छ।’

त्यस्तै उनले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई पनि चुनावमा सहभागी हुनको लागि अपिल गरे । उनले भने,‘क्रान्तिको रोमान्टिक सपना नदेखौं, थवाङ्का जनताले चुनावमा उत्साहजनक सहभागिता जनाएर लोकतान्त्रिक अभ्यासमा भाग लिएको कुरा नबिर्सिउँ।’

 



प्रतिक्रिया दिनुहोस्