Logo

सङ्घ र प्रदेशको निर्वाचनमा पनि एमाले पहिलो बन्नेछ : वामदेव गौतम



काठमाडौँ, २३ असार । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले सङ्घ र प्रदेश तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घमा निर्वाचित केन्द्रीय प्रतिनिधि तथा शाखा अध्यक्षको स्वागतार्थ प्रेस चौतारी नेपालले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सङ्घ र प्रदेश तहको निर्वाचनमा बहुमत हासिल गर्न नसके पनि एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभयो ।

“हामी प्रदेशमा सबैभन्दा ठूलो पार्टी बनेर सरकार निर्माण गर्ने अवस्थामा पुग्छौँ,” उहाँले भन्नुभयो – “राष्ट्रिय निर्वाचनमा बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा पुगेर सरकार बनाउँछौँ ।” नेपाली जनताले चाहेर नै एमाले दुई चरणको स्थानीय तहको निर्वाचनमा ठूलो पार्टी बन्न सकेको उहाँको भनाइ छ ।

केही ठाउँमा अन्तर्घात र अलोकप्रिय उम्मेदवार उठाउन पुग्दा हार व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले तेस्रो चरणको प्रदेश नं २ को निर्वाचनमा पनि ५० भन्दा बढी स्थानीय तह जित्ने दाबी गर्नुभयो ।

उपाध्यक्ष गौतमले निर्वाचन युद्ध लडेजस्तै भएकाले एकताबद्ध भएर पत्रकार महासङ्घको निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले महासङ्घको निर्वाचनमा चौतारी अन्य सङ्गठनसँग सहकार्य गरेर भाग लिन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष शम्भु श्रेष्ठ, गगन विष्ट, राजेन्द्र अर्याल, केन्द्रीय प्रचार सचिव विष्णु रिजाललगायतले महासङ्घको निर्वाचन नजिक आइसकेकाले विचार मिल्ने सङ्गठनसँग प्रेस चौतारी नेपालले सहकार्य गर्नुपर्ने धारणा राख्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्