Logo

संविधान संशोधनबारे अन्तिम राय लिन महन्थ ठाकुरले ओलीसँग वान टु वान वार्ता गर्ने



काठमाडौं, २७ असार । संविधान संशोधनबारे एमालेको धारणा बुझ्नको लागि राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम पटक भेटवार्ता गर्ने भएका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै संविधान संशोधनबारे लचकता अपनाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका एमाले अध्यक्ष ओली निर्वाचन सम्पन्न भएपछि भने अहिले संशोधन गर्न हुँदैन भनेर बिच्किएपछि राजपा नेपालका शीर्ष नेताहरु पूनः एमालेसँग रुष्ट बनेका छन् ।

राजपा नेपालका अध्यक्ष ठाकुरले ओलीसँग एकपटक वन टु वान भेटवार्ता गर्नेबारे आज पार्टीका नेताहरुलाई जानकारी गराएका छन् । ठाकुर पछिल्लो समय ओलीसँग निकट भएका छन् । तर एमालेले सदनमा विचाराधिन संशोधन विद्येयक यथास्थितिमा पारित गर्न सहयोग नगर्ने अडान लिएपछि एमाले नेतृत्वसँग एक पटक वार्ता गर्ने राजपा नेपालका नेताहरुको तयारी रहेको छ।

ह्ुन त यो बीचमा एमाले र राजपा नेताहरुवीच सम्बन्ध घनिष्ठ बनेको छ । राजपा नेपालका एक नेताले भने,‘विगतको भन्दा योपटक एमालेसँग हाम्रो सम्बन्ध अत्यन्तै सुमधुर भएको छ, सम्बन्ध सुमधुर भयो, तर संशोधनमा एमाले अझै तयार भएन, यसले हामीलाई अलिक निराश बनाएको छ।’

सत्तारुढ दलले यही महिनाभित्रै संशोधन प्रस्ताव पारित गराउने तयारी गरेका छन् । सोही अनुसार कांग्रेस र माओवादी केन्द्रका नेतृत्वले संशोधन प्रस्तावको पक्षमा सहमति जुटाउन गम्भिर छलफल सुुरु गरिरहेका छन् ।

तर, एमालेले भने कुनैपनि हालतमा निर्वाचन अघि संशोधन प्रस्तावलाई अघि बढाउन नहुने अडान लिएको छ।



प्रतिक्रिया दिनुहोस्