Logo

संविधान संशोधनबारे सहमति खोज्न ओली र थापावीच भेटवार्ता



काठमाडौं, २७ असार । सदनमा विचाराधिन रहेको संविधान संशोधन विद्येयकको विरोध गरिरहेको एमालेलाई प्रस्तावको पक्षमा ल्याउनको लागि विभिन्न दलका शीर्ष नेताहरु लागिपरिरहेका छन् ।

संशोधन प्रस्ताव पारित गर्ने वा के गर्ने भन्नेबारे सहमति कायम गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फकाउन राप्रपा अध्यक्ष कमल थापा आँफै सक्रिय रुपमा लागिपरिरहेका छन् । राप्रपा पछिल्लो समय प्रस्ताव पारित गराउने पक्षमा सकारात्मक देखिएको छ ।

मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको बैठकमा भएको भेटमा उनले एमाले अध्यक्ष ओलीसँग सिमांकनबाहेकका विषयलाई मात्रै समेटिएर ल्याएको संविधान संशोधन प्रस्ताव मान्नैपर्ने नैतिक बन्धनमा आफूहरु रहेको पनि स्मरण गराएका थिए ।
अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीसँगको भेटमा संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गर्न आफूहरु सकारात्मक रहेको बताएको स्रोतले दाबी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सीमांकन बाहेकका विषयलाई समेटिएर ल्याइए संविधान संशोधन प्रस्ताव मान्य हुने अडान राख्दै आएको थियो । यता, एमाले अध्यक्ष ओलीले भने सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढने विषयमा विचार गर्न अध्यक्ष थापासँग आग्रह गरेका थिए ।

संविधान संशोधन प्रस्तावको पक्षमा उभिन आफूहरुलाई नैतिक बाध्यता रहेको कुरा ओलीसँग राखिएको थापाले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
तर एमालेले सबै तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा केन्द्रित हुने गरी छलफल गरिएको पनि स्पष्ट पारे ।

सरकारले यही हप्ता भित्र संविधान संशोधन प्रस्ताव पारित तयारी गरिरहेको बेला ओली र थापाबीच भेटवार्ता भएको हो । यसअघि थापा र प्रधानमन्त्री देउवावीचपनि संशोधनमा सहमति कायम गर्नेबारे छलफल भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनबारे तीन वटा नयाँ विकल्पहरु ऋघि सारेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्