Logo

संसदको संख्या बढाउने कुरा कुनैपनि हालतमा स्विकार्य हुँदैन : पाण्डे



काठमाडौं, २९ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले पनि संसदको निर्वाचन क्षेत्र २४० बनाउने कुरा पार्टीभित्र कुनै छलफल नभएको र यदि यस्तो खाले कुरा आफूहरुले कुनैपनि हालतमा नमान्ने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘संख्या बढाउने भन्ने कुरा आधिकारिक रुपमा थाहा छैन, २४० को संख्या किन घटाईयो, त्यसैले यो संख्या बढाउने कुरा हामीलाई मान्य छैन, म व्यक्तिगत रुपमा यो प्रस्तावको पक्षमा छैन, कांग्रेसले मान्दैन् ।’

संसदको निर्वाचन क्षेत्र बढाउने कुरामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सकारात्मक भएको संकेत गर्दै मुन्टो हल्लाएको भन्ने कुरा आफूहरुले पनि सुनेको उल्लेख गर्दै पाण्डेले भने,‘संविधान संशोधन गरेर मधेशको मुद्दा हल गरौं भन्ने चाहिने कुरामा अड्डी कस्ने तर नचाहिने कुरामा मुन्टो हल्लाएर माओवादीले मान्ला त भन्ने रु यो कस्तो राजनीति हो रु’ उनले संसदको निर्वाचन क्षेत्र संख्या १६५ लाई बढाउन नहुने जिकिर गरे ।

त्यस्तै उनले मधेशको माँग सम्बोधन गर्नको लागि आफ्ना पार्टीले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै भने,‘कांग्रेसले निरन्तर प्रयास गरिरहेको छ, तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार भएर नआउन्जेलसम्म दुई तिहाई पुग्दैन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले संशोधन प्रस्ताव पारित गराउनको लागि कांग्रेस कटिबद्ध रहेको समेत विश्वास दिलाए । उनले भने,‘संशोधन प्रस्तावलाई दुई तिहाईले पारित गर्नको लागि हामी कटिबद्ध छौं, तर राजपाले मान्छ भने निर्णयार्थ पेश गर्न सकिन्छ।’ उनले प्रस्ताव पारित भएपनि नभएपनि राजपा निर्वाचनमा जान तयार हुनुपर्ने धारणा राखे ।

पाण्डेले आउने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन आफूहरु प्रयत्नशील रहेको बताए । उनले भने,‘उहाँहरु आउनुपर्छ, यदि आउनुभएन भने पनि चुनाव रोकिँदैन्।’

उनले असोज २ गतेको निर्वाचन अब कुनैपनि हालतमा नरोकिने स्पष्ट पारे । उनले भने,‘प्रस्ताव पारित भएन भनेपनि उहाँहरुले यसलाई नै चुनावी एजेण्डा बनाएर निर्वाचनमा जानुपर्छ।’



प्रतिक्रिया दिनुहोस्