Logo

राप्रपा फुटको संघारमा, कमल थापालाई संसदीय दलको नेताबाट हटाउन असन्तुष्टहरुको गोप्य बैठक



काठमाडौं, २९ असार । संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी अन्ततः फुटको संघारको सम्मुख रहेको छ ।

सरकारले यही असारभित्रै संशोधन प्रस्ताव पारित गराउने तयारी गरिरहेको बेला प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाभित्र अर्को पक्षले छुट्टै भेला र गोप्य बैठक गरिरहेको स्रोतको दाबी छ ।

राप्रपा फुटको संघारमा पुग्नुको प्रमुख कारण भने सरकारमा पार्टीको सहभागिता हुने विषयलाई लिएर देखिएको राप्रपा निकट उच्च स्रोतले दाबी गरेको छ । सरकारमा उपप्रधानमन्त्रीसहित पार्टी अध्यक्ष कमल थापा पनि सहभागी हुने तयारी गरिरहेको पार्टीभित्रका संसदीय दलका उपनेता दिपक बोहराले थापालाई जसरीपनि सरकारमा जानबाट रोक्ने अस्त्र प्रयोग गरिरहेका छन् ।

उनले पार्टीबाट प्रतिनिधित्व गरेर अध्यक्ष थापाले नै सरकारमा सहभागी भए पार्टी नै फुटाईदिने चेतावनीसहितको अप्रिय सन्देश अध्यक्ष थापासामू पुर्याईसकेका छन् । स्रोतको दाबी छ,‘राप्रपाभित्रको अहिलेको विवाद भनेको नै सरकारमा कसको नेतृत्वमा जाने भन्ने नै हो, तर बोहराको पक्षमा बहुमत सांसदहरु देखिएका छन् ।’

त्यतिमात्रै होईन, बोहरा समूहले अध्यक्ष थापालाई पार्टीको संसदीय दलको नेताबाटै नै हटाउने तयारी गरिरहेको छ । सोही अनुरुप अहिले बोहरा समूहको बैठक विभिन्न गोप्य ठाउँमा भैरहेको छ । बोहरालाई पार्टीका शीर्ष नेता पशुपतिशमशेर जबराको समेत साथ र सहयोग रहेको छ ।

त्यस्तै अध्यक्ष थापालाई सरकारमा जानबाट रोक्नको लागि प्रभावशाली नेताहरु क्रमशः विक्रम पाण्डे, सुनिल थापा लगायत पनि भित्री रुपमा लागिपरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्