Logo

नामावली संकलनको समयावधि बढाउन सत्तारुढ घटकको आग्रह



काठमाडौँ, ३० असार । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

आयोगमा दुई दलका नेताले प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तसँग आज बेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गर्नुभएको हो । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको नेतृत्वको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर मध्यवर्षायाममा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढाउन, आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निर्वाचन आयोगले यसअघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य सञ्चालन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

भेटपछि पत्रकारसँग कुरा गर्दै नेता खाँडले काँग्रेस नेतृत्वले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा भाग लिन व्यवस्था गर्र्न सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल भएको बताउनुभयो ।

उहाँले काँग्रेसले पहिलो र दोस्रोचरणको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा आयोगका पदाधिकारीलाई बधाई र धन्यवाद ज्ञापन गरेको जानकारी दिनुभयो । काँग्रेसको टोलीमा नेता आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

यसैगरी, नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले पनि पार्टीका तर्फबाट नामावली सङ्कलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गर्नुभएको जानकारी आयोगले दिएको छ

आयोगका कामु सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ठेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताले आयोगको ध्यानाकर्षण गराउनुभएको जानकारी दिनुभयो ।

उहाँले आयोगको जनशक्तिको, आगामी निर्वाचनको समयसीमा र स्थानीय तहको हालको अवस्था आदिका कारण जिल्ला सदरमुकामबाटै नामावली संकलन गर्ने कार्यलाई भरपुर प्रयोग गर्न उचित हुने बताउनुभयो ।

मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनु नपर्ने जनाउँदै आयोगले नाम दर्ता भइसकेपछि साउन १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।

यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायतका कार्यक्रमबाट मतदाता नामावली संकलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै फागुन ९ गतेदेखि यो कार्य स्थगित भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्