Logo

माओवादी बैठकमा प्रदेश ईन्चार्जहरुद्वारा चुनावी रिपोर्ट प्रस्तुत



श्रावण २, काठमाडौं । आइतबारबाट सुरु भएको ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा सात वटै प्रदेशका ईन्चार्जहरुले स्थानीय तह निर्वाचनको चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको छ ।

केन्द्रीय कार्यालय कोटेश्वरमा जारी बैठकमा प्रदेशका ईन्चार्जहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको हो । बैठकमा प्रदेश नं.–१ बाट साबित्रीकुमार काफ्ले, प्रदेश नं.–३ बाट हितमान शाक्य, प्रदेश नं.–४ बाट देव गुरुङ, प्रदेश नं.–५ बाट वर्षामान पुन ‘अनन्त’, प्रदेश नं.–६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश नं.–७ बाट लेखराज भट्टले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो भने स्थानीय तहको निर्वाचन सम्पन्न हुन बाँकी प्रदेश नं.–२ बाट ईन्चार्ज मातृका यादवले राजनीतिक तथा संगठनात्मक अवस्थितिबारे रिपोर्ट गर्नुभएको थियो ।

रिपोर्ट प्रस्तुत गर्दै नेताहरुले स्थानीय तहको निर्वाचनमा अपेक्षित सफलता प्राप्त हुन नसकेको र त्यसमा पार्टीको संगठनात्मक व्यवस्थापन नै मूख्य समस्या रहेको रिपोर्ट गर्नुभएको थियो । स्थानीय तह निर्वाचनमा अनुभवको कमि, निर्वाचनको पूर्वतयारीको कमि, पार्टी एकताको भाव तलसम्म सम्प्रेषण गर्नमा ढिलाई, नेता–कार्यकर्ताको जनस्तरमा कमजोर सम्बन्ध, आर्थिक चलखेलजस्ता कारण निर्वाचनमा अपेक्षित सफलता हासिल नभएको नेताहरुले रिपोर्टिङ गर्नुभएको थियो ।

बैठकमा नेताहरुले स्थानीय निर्वाचनमा अपेक्षित सफलता हासिल नभए पनि अधिकांश जिल्लामा २०७० सालको तुलनामा मतसंख्या बढेको, ९० भन्दा बढी स्थानमा पार्टीले दोस्रो हैसियत प्राप्त गरेको र कतिपय स्थानमा अत्यन्तै झिनो मतान्तरले पराजित हुनु परेको रिपोर्टिङ गर्नुभएको थियो ।

बैठकको प्रारम्भ गर्दै पार्टी अध्यक्ष प्रचण्डले पार्टी पूनर्निर्माणको ऐतिहासिक आवश्यकतामा जोड दिँदै सचिवालय बैठक त्यसको प्रस्थानबिन्दु भएको बताउनु भयो । अध्यक्ष प्रचण्डले विचार र एजेण्डामा अहिले पनि राजनीति माओवादीकै वरिपरि रहेको तर त्यसअनुरुप संगठनात्मक तयारी र व्यवस्थापन नहुँदा परिणाममा अपेक्षित सफलता हासिल गर्न नसकिएको बताउँदै जनस्तरसम्म जरा गाडेको पार्टी निर्माण अहिलेको मूख्य चुनौति भएकोमा जोड दिनुभएको थियो ।

स्थानीय तह निर्वाचनको समीक्षा, तेस्रो चरणको स्थानीय तह निर्वाचन, प्रादेशिक र केन्द्रीय निर्वाचनको तयारी र पार्टीको संगठनात्मक निर्णयका लागि बोलाइएको बैठकमा सोमबारदेखि जिल्ला ईन्चार्जहरुले रिपोर्टिङ गर्ने कार्यसूचि रहेको छ । बैठक सोमबार बिहान ११ बजे पुनः बस्नेछ । बैठकमा जिल्ला ईन्चार्जहरुलाई पनि आमन्त्रण गरिएको छ ।

218
11 0 0 229



प्रतिक्रिया दिनुहोस्