Logo

मधेश केन्द्रित दलले परिणाम स्विकार गरेर निर्वाचनमा जाने प्रतिबद्धता जनाए संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न तयार छौं : साउद



काठमाडौं, ३ साउन । प्रमुख दल नेपाली कांग्रेसका नेता एन.पी. साउदले राजपाले लगायत असन्तुष्ट पक्षहरुले संशोधन प्रस्ताव पास वा फेल जे भएपनि परिणाम स्विकारेर निर्वाचनमा जाने प्रतिबद्धता जनाए आफूहरु तत्काल संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्न तयार रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले भने,‘प्रस्ताव निर्णयार्थ पेश गर्नेबारे हामी छलफल गरिरहेका छौं, प्रस्तावलाई निर्णयार्थ पेश गर्छौं, परिणामलाई राजपाले स्विकार्न तयार हुनुपर्छ, दुई तिहाई पुर्याउन हाम्रो कोशिस रहन्छ, यदि प्रस्ताव फेल भयो भने पनि राजपा चुनावमा जान तयार हुनुपर्छ।’

उनले एमालेले प्रस्ताव पास गर्नै हन्न भन्नु र राजपाले पनि दुई तिहाईको सुनिश्चितता खोज्नु दुवै अतिवादी सोच रहेको टिप्पणी गरे । उनले भने,‘एमाले र राजपाको अतिवादीलाई चिरेर हामी एउटा निश्कर्षमा पुग्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता साउदले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग फाष्ट ट्र्याकबाट गठन गर्ने तयारी गरिरहेको समेत जानकारी दिए ।

उनले भने,‘प्रधानमन्त्रीज्युले १५ दिनभित्रै फाष्ट ट्रयाकबाट कानून ल्याएर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारीमा हुनुहुन्छ, यसको लागि निर्वाचन आयोगसँग सघन छलफल भैरहेको छ।’

उनले सकेसम्म भोलि नै मन्त्रिमरिषद विस्तार हुने समेत दाबीगरे । साउदले थपे,‘आजसम्म कार्यदलले छलफल गरेर अन्तिम टुँगो लगाउँछ, संभवत भोलि नै नभए पर्सि विहानसम्म सबै मन्त्रालयले मन्त्री पाउँछ, अब धेरै कुर्नुपर्दैन्।’

उनले प्रधानमन्त्री देउवाले नेतृत्वको गठबन्धनको सरकारले नै बाँकी निर्वाचनहरु समयमै सम्पन्न गर्ने समेत विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्