Logo

बामदेव गौतमको घोषणा,‘अब एमालेको अध्यक्ष र प्रधानमन्त्री मै हुँ’



प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेमा आफू नै अब अध्यक्षको र पार्टीबाट प्रधानमन्त्रीको दाबेदार रहेको बताएका छन् । उनले भनेका छन्, परिस्थिती आएछ भने नबन्ने कुरै भएन । बन्नुपर्छ । म मात्रै होइन, जसलाई प्रस्ताव आउँछ ऊ बन्नुपर्छ ।’ यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले उपाध्यक्ष गौतमसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन असोज २ गते हुन्छ ?

निर्वाचन हुन्छ र त्यहाँ पनि नेकपा एमाले पहिलो पार्टी बन्छ ।
संविधान संशोधन नभएसम्म चुनाव हुन दिन्नौ भनेर माधेशवादी दलले भनिरहेको अवस्थामा कसरी चुनाव सम्भव छ ?

त्यस क्षेत्रका जनता निर्वाचनको पक्षमा छन् । जनताबाट अलग भइसकेका नेता वा पार्टीले निर्वाचन हुन दिदैनौँ भनेर भन्छन् । मेरो विचारमा निर्वाचन हुन दिन्नौ भन्नेहरुलाई त्यहाँबाट लखेट्छन् । त्यसैले राष्ट्रिय जनता पार्टीबिना पनि प्रदेश नम्बर २ मा चुनाव हुन्छ ।

अहिले संविधान संशोधन हुन सक्दैन ?

संविधान संशोधन कुनै पनि हालतमा हुन सक्दैन । तीनवटै चुनाव सकिएपछि पनि संविधान संशोधन हुँदैन । केवल संशोधनको विषयमा छलफल मात्रै हुन्छ । कसैले आन्दोलन गर्दैमा संशोधन हुँदैन । जोसँग शक्ति छ उसैले गर्ने हो ।

नेकपा एमाले संविधान संशोधनको विपक्षमा उभिएको किन हो ?

संविधान संशोधन किन गर्नुपर्छ भन्ने प्रश्नको जवाफ नै छैन । संविधान संशोधन गर्न चाहनेसँग पनि यसको जवाफ छैन । संविधान संशोधन गर्नुपर्ने उचित जवाफ पुष्पकमल दाहाल, शेरबहादुर र महन्थ ठाकुरसँग समेत छैन । महन्थ ठाकुरले त नेपाललाई तीनवटा राष्ट्र बनाउन खोज्नुभएको छ । एउटा जनजातीको राष्ट्र, एउटा मधेशीको र अर्को खसको राष्ट्र बनाउन चाहनुभएको छ । त्यसैले महन्थ ठाकुरले चाहेजस्तो राष्ट्र कहिले पनि हुन सक्दैन । हामी उहाँहरुको यो उद्देश्य पूरा हुन नदिनका लागि संकल्प गर्दछौँ । किनकी उहाँहरुले ल्याएको संशोधन प्रस्तावमा स्थानीय तहको अधिकार कटौति गर्ने र स्थानीय सरकारलाई अर्थहिन बनाउने तत्व छ । त्यस्तै अनावश्यक रुपमा भाषाको कुरा ल्याइएको छ । बहुसंख्यक जनताले बोल्ने भाषाको ठाउँमा सबै भाषा सुचिकृत गरेर २,४ सय मान्छेलाई मेरो भाषा हिन्दी हो भन्न लगाउने षडयन्त्र भएको छ । त्यसको आधारमा हिन्दी भाषालाई समावेश गर्ने कुरा भएकाले हामी त्यसो हुन दिदैनौँ ।

नागरिकताको बारेमा यहाँहरुको धारणा के हो ?

नागरिकताको बारेमा पनि संविधानमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । अब कुनै संशोधनको जरुरी छैन । भारतमा अंगिकृत नागरिकता पाउनका लागि सात वर्ष कुर्नुपर्छ । नेपालको संविधानले त अंगिकृत नागरिकतालाई अधिकारकै रुपमा समेटेको छ । त्यति मात्रै होइन नेपालस्थित भारतिय राजदुतावासले नागरिकताका लागि सिफारिस गरेको भरमा भारतीयलाई अंगिकृत नागरिकता दिन सकिन्छ । यस्तो व्यवस्था हुँदाहुँदै भारतबाट नेपाल आउनेवित्तिकै नेपाली नागरिकता पाउने कुरा व्यवस्था गर्नका लागि हामी संविधान संशोधन गर्न दिदैनौँ । संविधान संशोधनको कुरा विदेशीको दलाली मात्रै हो ।

संविधान संशोधन गराउनका लागि यतिधेरै रस्साकस्सी हुनुको पछाडी के कारण देख्नुहुन्छ ?

अहिले संविधान संशोधन गर्न खोज्नुको प्रमुख कारण त कसैलाई रिझाउनका निम्ती, कसैलाई उपहार दिनका निम्ती र नेपालको संविधानलाई छियाछिया बनाउन हो ।

नेकपा एमाले बाहेकका धेरैजसो दलले संविधान संशोधन गर्न चाहेका छन नि ?

तराई मधेशलाई उहाँहरुले पातालबाट बोकेर ल्याएको हो ? स्वर्गलोकबाट ल्याएको हो ? तराई मधेश नेपाली भुमी होइन ? नेपाली भुमिमा जो कोही नेपाली नागरिक बस्न पाउँछ । फलानालाई लखेट्छौँ, फलानालाई बस्न दिन्छौँ भनेर भन्न पाइन्छ ? मधेशी नेता भनाउँदाले जे भन्यो त्यही गर्नुपर्ने ? संविधान सभाले निर्णय ग¥यो, संविधान जारी ग¥यो, त्यही संविधान बमोजिम हुन्छ ।

नेकपा एमालेले मधेशी जनताको मन जित्नु पर्दैन ?

मधेशीको मन भनेको उपेन्द्र यादवको मन हो ?

नेकपा एमालेले मधेशका जनतालाई अधिकार दिनुपर्दैन ?

तपाई जहिले पनि जोर जबरजस्ती गर्नुहुन्छ । मधेशी जनता भनेको महन्थ ठाकुर हो ? ठाकुरको पछि लाग्ने जनता कति छन् ? जसले आज मधेश भनेर चिच्याइरहेका छन्, उनीहरुसँग मधेशी जनता छैनन् । मधेशी जनता भनेको नेकपा एमाले, कांग्रेस र माओवादी हो । जसले मधेशबाट जनमत ल्याएको छ, तिनै मधेशविरोधी हुन सक्छ । त्यस्तो पनि हुन्छ ? मुठ्ठीभरका मान्छे  बोकेर हिँड्ने मधेशी हुन सक्दैनन् ।

जनसंख्याको आधारमा स्थानीय तह हुनुपर्छ भन्ने मागलाई कसरी लिनुहुन्छ ?

अहिले जनसंख्याका आधारमा नभएर केका आधारमा भएको छ त ?

तर भूगोलको आधारमा भएको छ नि ?

कहाँ ?

पहाडमा ।संसारमा भूगोलको आधारमा नभएको प्रदेश कहीँ छ ? हावामा, अन्तरिक्षमा प्रदेश बनेको छ र ? समुन्द्रभित्र प्रदेश बनेको छ कहीँ ? जनसंख्याको आधारमा मात्रै हुँदैन । जनसंख्या र भूगोलको आधारमा हुन्छ । जनसंख्याको आधारमा मात्रै रे, त्यस्तो पनि कुरा ल्याउन हुन्छ ? भूगोल चाँही सिध्याइदिने, जनसंख्यालाई  लगेर अन्तरिक्षमा लगेर प्रदेश बनाउने ? जहाँ गए पनि भूगोल र जनसंख्या संगै जोडिएर जान्छ ।

भारतमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाइएको छ नि ?भारतमा पञ्चायत छ । चौतारीमा बसेर चिया खाने पञ्चायत छ भारतमा । स्थानीय सरकार नै छैन । उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्रमा २०,२५ लाख जनसंख्या छ, नागाल्याण्डको एउटा निर्वाचन क्षेत्रमा १२,१५ हजार जनसंख्या छ, ६,७ हजार जनसंख्याको आधारमा पनि एउटा निर्वाचन क्षेत्र बनेको छ भारतमा । के हो जनसंख्या ? संसारमा कहिँ पनि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्भव छैन । नचाहिने कुरा गरेर हुन्छ ?

राजेन्द्र महतोले के भन्नुभएको छ भने, संविधान संशोधन नगरी प्रदेश नम्बर २ मा चुनाव गरियो भने नेकपा एमालेलाई निषेध गछौँ ।एमालेलाई निधेष गर्ने हो भने उहाँहरु नै निषेध हुुनुहुन्छ । उपेन्द्र यादवले भनेको होइन ? राजेन्द्र महतो नेपाली जनतालाई भ्रममा पारेर, छक्याएर, पैसा तिरेर, नेपालको नागरिकता लिएको हो । वास्तवमा ऊ भारतको फलानो ठाउँमा जन्मिएको मान्छे हो भनेर । त्यसोभएकाले त्यहीबाट मान्छे ल्याएर हामीलाई आक्रमण गर्न लागेका थिए, नेपाली जनताले लखेटेपछि गए ।
सप्तरीको कुरा गर्नुभएको ?के को सप्तरी ? सर्लाहीमा ।

सप्तरीमा पनि एमालेलाई निषेध गरियो नि ?कहाँ ? निषेध कसले ग¥यो ?
तपाईहरुको आमसभामा आक्रमण भएको होइन ? तपाईहरुलाई लखेटेका होइनन् ?कहाँ लखेटे हामीलाई ? हामीलाई लखेटेको हो ? कसले लखेटेको ?
राजेन्द्र महतोले त सप्तरीका जनताले एमालेलाई लखेट भन्नुभाथ्यो ?२,४ जना मान्छेहरुलाई उठाएर ल्याएर, मान्छेलाई काट्ने, मार्ने, गोली हान्ने, यस्तो यस्तो गर्छम् भन्दै हिँडेका मात्तिएका हुन् । तिनीहरु आफैँ उखेलिएका हुन् । नेकपा एमालेलाई निषेध गर्नेहरु आफैँ निषेधित हुन्छन् । हामीले निषेध गर्न पर्दैन । हामीलाई निषेध गर्ने नेपालमा कुनै समुदाय, कुनै व्यक्ति,  कुनै तत्व, कुनै शक्ति छैन ।
तपाई नेपालमा संघिय गणतन्त्र संस्थात हुनुपर्छ भन्ने मान्छे हो नि ।भइसक्यो संघियता संस्थागत ।

तर प्रदेशको निर्वाचन हुन बाँकी छ नि ?

बाँकी छ ।

कसरी हुन्छ अब निर्वाचन ?शेरबहादुर देउवाले तीनैवटा निर्वाचन गराउन सक्नुहोला ?

सक्नुहुन्छ । प्रधानमन्त्री भएर सक्दिन भन्न पाइन्छ ?

क्षेत्र निर्धारण आयोग अझै बन्न सकेको छैन । 

बन्छ बन्छ । यो १५ दिनमा बन्छ ।

२४० क्षेत्रमा चुनाव हुने हो कि १६५ मा भन्ने अन्यौल छ नि ?

कहाँ अन्यौल छ ? नचाहिने कुरा गर्ने ? तपाईले भनेर हुँदैन । संविधानमा १६५ निर्वाचन क्षेत्र हुनेछ भनेर लेखिएको छ । प्रदेशको निर्वाचन संघिय निर्वाचनको एउटा क्षेत्रमा २ वटा निर्वाचन क्षेत्र गरेर प्रदेशको निर्वाचन गर्नुपर्छ भनेर संविधानमा लेखिएको छ । यही व्यवस्था अनुसार चुनाव हुन्छ । यदी शेरबहादुरले चुनाव गराउन सक्दिन भन्छन् भने प्रधामन्त्री बन्न लायक छैनन् ।

संविधान संशोधन ग¥यो भने २४० निर्वाचन क्षेत्र बन्न सक्ला नि ?

संविधान संशोधन गरेर जे मन लाग्यो त्यही गर्न पाइन्छ ? नेपाल बेच्न पाइन्छ ? संविधान संशोधन गरेर गणतन्त्र ध्वस्त गर्न पाइन्छ ? संविधान संशोधन गरेर पूर्ववाट उदाउने सुर्यलाई पश्चिमबाट उदाउने बनाउन सकिन्छ ? नेपाललाई स्वर्गलोक पठाउन सकिन्छ ?
नेपालमा नेताहरु मिल्दा त सबै कुरा हुने गरेको छ नि?

हुने कुरा भएको छ । नहुने कुरा भएको छैन ।

तपाईले गणतन्त्र नेपालमा धेरैलाई प्रधानमन्त्री बनाउनुभयो । प्रचण्डदेखि केपी शर्मा ओलीसम्मलाई । तपाई चाही अब कहिले प्रधानमन्त्री बन्ने ?

मैले बनाउँदा अरु बन्ने, अरुले बनाउँदा म बन्ने हो । अरुले कहिले बनाउँछन मलाई प्रधानमन्त्री त्यसैबेला भन्छु ।

पछिल्लो समय तपाई प्रधानमन्त्री बन्ने विषयमा प्रचण्डसँग कुराकानी गर्नुभएका हो ?

गरेको छैन । म प्रधानमन्त्री बन्ने सम्बन्धमा आजसम्म कसैसँग कुरा गरेको छैन ।

तपाई २०७४ साल माघ सात गतेभित्र यो देशको प्रधानमन्त्री बन्न सक्नुहुन्छ ?

परिस्थिती आएछ भने नबन्ने कुरै भएन । बन्नुपर्छ । म मात्रै होइन, जसलाई प्रस्ताव आउँछ ऊ बन्नुपर्छ । तर त्यो परिस्थिती आज छैन । किनकी नेकपा एमालेको पक्षमा सरकार बनाउने संख्या छैन । त्यो संख्या पु¥याउने खेलमा पनि हामी  लागेका छैनौँ । हामी अहिले निर्वाचनमा केन्द्रित छौँ । १६५ क्षेत्रमा अत्याधिक बहुमत ल्याउने  हाम्रो अहिलेको लक्ष्य हो । त्यसपछि पाँच वर्षसम्म लगातार प्रधानमन्त्री बन्ने र २० वर्ष एमालेले देश चलाएर विदेशी देशको दाँजोमा नेपाललाई पु¥याउन चाहन्छाँै ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्