Logo

माओवादी बैठकमा सङ्गठनलाई चुस्तदुरुस्त बनाउन जोड



काठमाडौँ, ४ साउन । नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टीको सङ्ठगन कमजोर भएका कारण स्थानीय तहको निर्वाचनमा सोचेअनुरूपको परिणाम आउन नसकेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा बोल्ने अधिकांश नेताले पार्टीको केन्द्रीय समिति मात्रै अत्यन्त ठूलो तर सङ्गठन कमजोर भएका कारण चुनावमा हार व्यहोरेको बताएका थिए । उनीहरुले सङ्गठनलाई चुस्त दुरुस्त बनाउनुपर्नेमा समेत जोड दिए ।

स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसक्नुका पछाडि प्रभावकारी रुपमा नेता तथा कार्यकर्ता परिचालनमा गर्न नसक्नु, आर्थिक स्रोतको अभाव, गुटगत मानसिकता, निर्वाचन तयारीको अभाव, प्रचार÷प्रसारमा कमी भएको नेताहरूको भनाइ छ ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धारणा राखेर सुरु भएको बैठकमा सातवटै प्रदेशका इन्चार्जले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुभएको थियो । बुधबार नेताहरु तिलक परियार, रेखा शर्मा, सुमन राई, माधव यादवलगायत ३१ जनाले आफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन समीक्षा, भावी चुनावी रणनीति र साङ्गठनिक विषयमा छलफल गर्न बोलाइएको उक्त बैठक पुनः बिहीबार बस्नेछ । रासस



प्रतिक्रिया दिनुहोस्