Logo

नारायणकाजीले गिरिराजमणिलाई मन्त्री बनाउनुपर्ने अड्डी कसेपछि माओवादीमा भाँडभैलो मच्चियो



काठमाडौं, ६ असार । चार दिनदेखि जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयका वैठकमा शीर्ष नेताहरुले आ–आफ्नो धारणा राख्नेक्रम आज पनि जारी छ ।

शुक्रबारको  बैठकमा सरकारमा कसलाई सहभागी गराउने भन्ने विषयमा चर्को विवाद नै परेको थियो । चुनावी नतिजाको समीक्षाका लागि वैठक बोलाइएपनि नेताहरुवीच एक–आपसमा कसलाई सरकारमा मन्त्री बनाएर पठाउने भन्नेबारे वाद विवाद नै परेको थियो ।

वैठकमा आफ्नो धारणा राख्दै नेता नारायणकाजी श्रेष्ठले पटक पटक सरकारमा सहभागी जनाईसकेका नेता गिरीराजमणि पोखरेललाई पूनः मन्त्री बनाउनुपर्ने अडान कसेपछि शीर्ष नेताहरुवीच चर्को विवाद भएको एक नेताले जानकारी दिए ।
बैठकमा कसले के भने ? यस्तो छ शीर्ष नेताहरुको अभिव्यक्ति

वैठकमा संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चुनावपछि बल्ल माओवादीले खुट्टाले टेकेको बताएका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘स्थानीय तहमा जे जस्तो नजिता आएको छ । यसबाट म उत्साही छु । अव पार्टी बनाउन सकिन्छ । चुनाव अगाडिसम्म माओवादीले टाउकाले टेखेको पार्टी थियो । अव बल्ल खुट्टाले टेकेको छ ।’ उनले भने, ‘खुट्टाले टेकेपछि अव सही दिशा लिन सकिन्छ । गति पनि आउँछ ।’

नेता रायमाझीले बाबुरामले माओवादी छाडेपछि आफुले कुनै गुट नचलाएको स्पष्ट पारेका थिए । उनले भने, ‘पहिला गुट पनि हेरियो । गुटले केही काम नगरेपछि छाडेको हो ।’ उनले भने, ‘अहिले पनि साथीहरु गुटमा रमाएका छन । गुटले के गर्छ, किन मरिहत्ते गर्छन, मैले केही बुझ्न सकिनँ ।’

उनले आफु पार्टीमा संसदीय दलको उपनेता भएपनि केही थाहा नपाउने गरेको गुनासो गरे । उनले पार्टी विधिमा नचलेको भन्दै विधिको विकासमा जोड दिए ।
वैठकमा अर्का नेता अमिक शेरचनले पार्टी्भित्र जो–जो नेताले दोहोर्याई– तेहर्यााई मन्त्री हुन मन गर्छन उनीहरुको नियत ठीक नभएको बताए ।

‘एउटै मान्छे पटक–पटक, घुमाई–फिराई किन मन्त्री हुन्छ ? कुरा सिधा छ घुस खान मन्त्री हुन्छन् । म केही समय स्वास्थ्यमन्त्री भएँ । त्यहाँ के भ्रष्ट्राचार होला भनेको त त्यो त सवै भन्दा ठूलो भ्रष्ट्राचारको केन्द्र रहेछ ।’ उनले भने, ‘अहिले हाम्रा केही साथीहरुलाई त्यहीँ मन्त्रालयमा जान मरिहत्ते छ ।’

नेता शेरचलने विगत र अहिले संगठनमा काम गर्ने तौरतरिकामा धेरै फेरबदल आएको बताए । ‘ मैले पुष्पलालदेखि प्रचण्डसँगसम्म काम गरेँ । चेपाङ र सुकुम्वासी वस्तीमा गएर संगठन बनाएँ । पहिला पहिला खान नपाएर कम्युनिष्ट नेता–कार्यकर्तालाई ग्यास्ट्रिक हुन्थ्यो । अहिले हेर्नुस् त धेरै खाएर कोलस्टोर छ ।’

वैठकमा अर्का नेता कृष्णबहादुर महराले वुकलेट हराएको प्रंसग निकाले । ‘अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँको नेतृत्वको सरकारले गरेका काम प्रचार गर्न बुकलेट निकाल्यौँ । ती बुकलेट कहाँ गए, थाहा भएन । यस्तो काम संगठनले गर्ने हो ।’ महराको भनाई थियो, ‘हामो संगठनमा काम गर्ने तौरतरिका भएन ।’

नेता महराले संयुक्त मोर्चा प्रभावकारी नभएको बताए । उनले संगठनमा रहेको अराजतका अन्त्य गर्नुपर्ने तथा टुक्रे मानसिकता हटाउनुपर्ने बताए ।

त्यसैगरी वैठकमा नेता गिरिराजमणि पोखरेलले पार्टीै एकतापछिको अपेक्षा पुरा नभएको बताए । उनले नेपालमा ०४६ सालपछि काँग्रेसलाई हराउने भन लागे अर्को पार्टीलाई भोट दिने चलन भएको भन्दै एमाले लोकप्रिय भएर भन्दा पनि काँग्रेस हराउनका लागि भोट पाएको बताए ।

नेता पोखरेलले अहिले प्रचण्डपथ व्युताउँन नसकिने बताए । केही दिन अगाडि केही नेताले प्रचण्डपथ व्युँताउनुपर्ने बताएका थिए ।

सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको चौंथो दिन पनि नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका हुन ।

बिहीबारको बैठकमा छिमिदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, हरिबोल गजुरेल, राम कार्की, सुरेश आले, ओम शर्मा, घनश्याम यादव, हिमाल किराँती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तिलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदी गरी १९ जना नेताहरुले चुनावी रिपोर्ट प्रस्तुत गरेका थिए ।

चुनावी समीक्षा गर्दै नेताहरुले संगठन पूनर्संरचनामा जोड दिँदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । शुक्रबारको बैठकमा अध्यक्ष कमरेड प्रचण्ड लगायतका शीर्ष नेताहरुले जवाफ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्