Logo

उपभोक्तासँग चर्को रकम असुल्ने आयल निगमले कमायो वर्षमा १४ अर्ब



साउन १०, काठमाण्डौ । नेपाल आयल निगमले आर्थिक वर्ष ०७३–७४ मा १४ अर्ब रुपैयाँ नाफा कमाएको छ । लामो सयम घाटामा रहेको निगमले उपभोक्ताबाट इन्धनमा चर्काे मूल्य असुल गरी एक वर्षमा १४ अर्ब नाफा कमाएको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा पनि उपभोक्तामाथि भार थपेको निगमले उचित रुपमा मूल्य समायोजन गरेको छैन ।

नेपाल आयल निगमले अघिल्लो वर्ष २० अर्ब रुपैयाँ नाफा कमाएकोमा यो वर्ष १४ अर्बमा झरेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० प्रतिशतले नाफा कम भएको छ । महँगोमा इन्धन खरिद गरेर सस्तोमा बेच्नुपर्दा नाफा घटेको निगमले जनाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य सामान्य बढे पनि स्थानीय बजारमा बिक्री मूल्य घटाएकाले नाफा घटेको बताएको छ ।

गत वर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले २० अर्ब नाफा कमाएको हो । यो वर्ष इन्धनको खरिद मूल्य सामान्य बढे पनि सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा नाफा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भए पनि सोहीअनुसार मूल्य सामायोजन नहुँदा नाफा बढ्न नसकेको निगमको भनाइ छ ।

निगमले आर्थिक वर्ष ०७२–७३ मा कुल २० अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको थियो । नाकाबन्दीको समयमा इन्धन आयात कम भए पनि निगमले नाफा भने उच्च कमाएको थियो । जुन नाफा अघिल्लो आवभन्दा ३३ प्रतिशत बढी हो । आव ०७१–७२ मा निगमको नाफा १५ अर्ब रुपैयाँ थियो ।

पछिल्ला तीन वर्षयता अन्तर्राष्ट्रिय बजार मूल्यमा गिरावट आए पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगमले उच्च नाफा कमाउँदै आएको छ । लामो समयदेखि ऋणमा रहेको निगमले पछिल्ला तीन वर्षयता नाफा कमाउँदै आएपछि गतवर्ष नै ऋण चुक्ता गर्न सफल भएको थियो ।

कुनै पनि वस्तु तथा सेवामा लागत मूल्यको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने कानुनी व्यवस्था भए पनि निगमले त्योभन्दा बढी नाफा राखेर इन्धनको कारोबार गर्दै आएको छ । जसका कारण पनि नाफा बढाउँदै गएको देखिन्छ । निगमले चालु आर्थिक वर्षको ११ महिनामा १ खर्ब १२ अर्बभन्दा बढीको इन्धन आयात गरेको छ । इन्धन आयात गरेवापत निगमले ४३ अर्ब ११ करोड राजश्व सरकारलाई बुझाएको छ ।

निगमका अनुसार मुलुकभर मासिक सरदर ७५ देखि ८० हजार किलोलिटर डिजेल खपत हुन्छ । त्यस्तै पेट्रोल मासिक २५ देखि ३० हजार किलोलिटर, हवाई इन्धन १२ देखि १५ हजार किलोलिटर खपत हुने गर्छ ।

हाल प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ ९१ पैसा, मट्टितेलमा १८ रुपैयाँ २२ पैसा, खाना पकाउने एलपी ग्यासमा ३९ रुपैयाँ ७९ पैसा, हवाई इन्धन आन्तरिकमा १० रुपैयाँ २७ पैसा र हवाई इन्धन बाह्यमा २१ रुपैयाँ ४० पैसा नाफा छ । डिजेलमा भने निगमलाई प्रतिलिटर ७२ पैसा घाटा छ ।



प्रतिक्रिया दिनुहोस्