Logo

प्रधानमन्त्रीले भनेजस्तै संघ र प्रदेशको निर्वाचन एकैपटक गरौँ : सचिव भट्टराई



काठमाडौँ, १४ साउन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ ।

गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले यहाँ आज आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा उहाँले समय अभावका कारण दुईवटा निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिनुभएको हो ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको चुनाव एकैपटक गर्ने कुराको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेजस्तै दुईवटाको निर्वाचन एकैपटक गर्नु पर्दछ । हामीले उहाँले भनेको कुराको यसको समर्थन गर्नुपर्छ । यसरी गर्दा राम्रो पनि हुन्छ ।”

उहाँले दुवै चुनाव एकैपटक गर्नेगरी चाँडो मिति तोक्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले मंसिरमा नै दुवै निर्वाचन गर्नेगरी क्षेत्र निर्धारण आयोगले आफ्नो कामलाई गति दिनुपर्ने धारणा राख्नुभयो ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले अझै पनि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको कुरा उठाएर निर्वाचनमा जान आनाकानी गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो नभएको भन्दै प्रदेश र केन्द्रको चुनावपछि संशोधनका बारेमा कुरा गर्न सकिने धारणा राख्नुभयो ।

छ वटा प्रदेशमा जसरी संविधान संशोधनबिना नै निर्वाचन भए जस्तै प्रदेश नं २ मा पनि निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहको निर्वाचनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने दाबी गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्