Logo

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्नेबारे सरकारले आधिकारिक निश्कर्ष निकालिसकेको छैन : मन्त्री बस्नेत



काठमाडौं, १७ साउन । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्ने कुरा सरकारको आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले दुवै निर्वाचन एकै चरणमा गर्ने भनेर बाहिर कुरा आएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।

उनले भने,‘सरकार दुवै निर्वाचन एकै दिन गराउने भनेर कुनै निश्कर्षमा पुगेको छैन, प्रधानमन्त्री शेरबहादुर देउवाजीले एकै पटक गर्दा कम खर्चिलो हुन्छ भनेर जनमत बुझ्नको लागि यस विषयमा छलफल गर्नुभएको हो, निर्वाचन आयोगका पदाधिकारीसहँग छलफल गर्दा उहाँले यो कुरा अगाडि सार्नुभएको हो, तर आधिकारिक रुपमा कुनै निर्णय भएको छैन, बरु यसबारेमा मन्त्रिपरिषदको बैठकमा हामी छलफल गर्छौं, अन्य दलहरुसँगपनि बसेर छिट्टै निर्णय लिन्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले दुवै निर्वाचन एकै दिन गर्नको लागि दलहरुवीच सहमति भएपछि एउटा निश्कर्षमा पुगिने बताएका हुन् । त्यस्तै उनले असोज २ गते हुने २ नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउन सरकारले प्रयास गरिरहेको जनाए ।

मन्त्री बस्नेतले माघ ७ गतेभित्रै सबै निर्वाचन सम्पन्न भएपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताए । उनले राजपाका माँगलाई सम्बोधन गर्न सरकार पूर्ण प्रतिबद्धत रहेको समेत स्पष्ट पारे ।

उनले भने,‘अब समस्यालाई लम्ब्याउने अवस्था छैन, एमालेसँग सहमति हुन जरुरी छ, किनकी एमालेविना दुई तिहाई पुग्दैन, त्यसैले एमालेलाई अलग राखेर संशोधन सम्भव छैन।’
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री बस्नेतले श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा निजी क्षेत्रका सञ्चारगृहसँग आफूले छलफल गर्ने बताए ।

उनले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीको भौतिक र पेशागत सुरक्षाका लागि सरकार प्रतिबद्ध भएकाले कानूनमा तोकिए बमोजिम पत्रकारको सुविधा उपलब्ध हुनुपर्ने उल्लेख गरेका हुन् ।
मन्त्री बस्नेतले लोकतान्त्रिक मुलुक र आधुनिक विश्वमा पत्रकारले पाउनुपर्ने सुविधा नपाउने विषय दुःखद् भएकाले यसमा सञ्चारसम्बन्धी संस्थासँगको सहकार्यका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गरे ।

उनले कुनैपनि देश सफल हुनुमा मिडियासँगको सहकार्य नै महत्वपूर्ण भएको बताएँदै सञ्चारकर्मीहरुसँग सहकार्य गर्न आफूहरु सधै तयार रहेको बताए । उनले भने,‘मिडियालाई कसरी सवल र सक्षम बनाउने भन्नेबारेमा म निकै चिन्तित छु, हामी सबैले सामूहिक रुपमा छलफल गरेर अघि बढ्नुपर्छ।’

क्लबका सभापति ऋषि धमलाले मन्त्री बस्नेतलाई बधाई तथा सफलताको शुभकामना दिए । उनले भने,‘मन्त्रीज्यूको कार्यकालमा नेपालको सञ्चार क्षेत्रको मुहार परिवर्तन होस, सवल होस, पत्रकारहरुको भविष्य उज्वल होस्।’ त्यस्तै धमलाले न्यूनतम पारिश्रमिक लागु गर्नको लागि समेत विशेष आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्