Logo

संशोधन प्रस्ताव निर्णयार्थ पेश गर, परिणाम जे आएपनि हामी निर्वाचनमा जान्छौं : राजपा



काठमाडौं, १७ साउन । राजपा नेपालका महासचिव केशव झाले संविधान संशोधनलगायत अन्य माँगहरु पूरा नभए चुनावमा नजाने स्पष्ट पारे । उनले भने,‘हाम्रा माँगहरु पूरा भएनन भने हामी निर्वाचनमा भाग लिँदैनौं, यथास्थितिमा निर्वाचनमा हामी जाँदैनौं।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास नगरेको समेत झाले आरोप लगाए । उनले भने,‘सरकारले संशोधन प्रस्ताव पारित गराउनको लागि ईमानदार प्रयास गर्ने हो भने हामी खेलको नियम मान्न तयार छौं।’ उनले सरकारले सँधै आफूहरुलाई अन्धकारमा राखेको समेत गुनासो पोखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूहरुलाई पनि भाग लिने वातावरण बनाउन सरकारसँग पटक पटक आग्रह गरिएको जनाए । उनले भने,‘क्याबिनेटमा हुने कतिपयहरु निर्णयहरु लिने काम भएको छैन, हामीलाई झुक्याउने काम भैरहेको छ, यो अति भयो।’

उनले राजपा अनिर्णयको बन्दी नभएको जिकिर गरे । उनले थपे,‘हामी यथास्थितिमा निर्वाचनमा जाँदैनौं।’ यद्धपी उनले सरकारले हालसालै केही निर्णयहरु आफूहरुले उठाएको विषयमा लिएको भन्ने सुन्नमा आएकोले यदि त्यो हो भने खुशीको कुरा भएको टिप्पणी गरे ।

उनले थपे,‘हाम्रा कार्यकर्ताहरु जेलमा छन्, अनि हामी कसरी निर्वाचनमा जाने रु यदि संशोधन प्रस्ताव पारित गराउने ईमानदार प्रयास भए, हामी खेलको नियम मान्छौं, र निर्वाचनमा जान्छौं।’



प्रतिक्रिया दिनुहोस्