Logo

बाढी प्रभावितलाई खाद्यान्न र लत्ताकपडा पठाउँदै गृहमन्त्रालय



साउन ३१, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर र हवाई जहाजमार्फत बाढी प्रभावित जिल्लाहरुमा राहत पठाउने क्रम जारी छ ।
गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा पठाएको हो । हिजो प्रधानमन्त्रीसहितको मन्त्रीहरुको टोलीले स्थलगत अवलोकन गरेर फर्किएपछि आज राहतका सामग्री पठाइएको हो । गृहमन्त्री र मन्त्रालयका अधिकारीले बाढी प्रभावित क्षेत्रका जनतालाई विष्कुट, चाउचाउ, चामल लगायतका खाद्यान्नसहित कपडा तथा कम्मल पठाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।
सोमबार खाली हात बाढी पिडितलाई भेट्न पुगेका मन्त्रीहरुको सर्वत्र आलोचना भएपछि आज खाद्यान्न र लत्ता कपडा पठाइएको हो ।
प्रभावित क्षेत्रमा दाल, चामल, नुन, तेल, चिनी, बिस्कुट, चाउचाउ, त्रिपाल, कम्बल, भाँडाकुँडा लगातका सामाग्री वितरण भइरहेको गृहमन्त्रालयले जनाएको हो ।
राहत वितरणमा सरकारले एकद्वार नीति लिएको छ । स्थानीय प्रशासनसँग समन्वय नगरी आफूखुसी राहत वितरण गर्न रोक लगाइएको छ ।
यसैबिच बाढी पहिरो पीडितले पर्याप्त राहत नपाएको गुनासो आएपछि गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैलाई पनि नछुटाई राहत वितरण गर्न निर्देशन दिएका छन् । मंगलबार बिहानदेखि उनी आफैं त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको हवाई अड्डा निर्देशनालयमा पुगेर प्रत्यक्ष कमाण्ड गरिरहेका छन् ।
गृहमन्त्री शर्माले नेपाली सेनाको हवाई अड्डा निर्देशनालयका प्रतिनिधि, निजी विमान सेवा प्रदायक संस्था तथा विपत व्यवस्थापनसँग सम्बन्धित निकायका सबै प्रतिनिधिहरुलाई विमानस्थलमै बोलाएर राहत वितरणको काम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्