Logo

भारतलाई चुनौति दिदै चिनिया उपप्रधानमन्त्रीले गरे नेपालसँग यस्ता सम्झौता



साउन ३१, काठमाण्डौ । चिनिया उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आएका बेला नेपाल र चिनबिच तीनवटा सम्झौतापत्र भएको छ । भूकम्पपछिको पुनः निर्माणमा चिनको सहयोगका बारेमा सम्झौता भएको छ । त्यस्तै नेपालमा चिनिया लगानी भित्र्याउनेसहित केही परियोजना अघि बढाउने विषयमा सम्झौता भएको हो ।
नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको हो ।

अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर गरे । नेपाल र चीनबीच तीन वटा सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । उक्त रकम अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ । यस्तै, हिमाल, पहाड र तराईमा पेट्रोलियम, ग्यास तथा खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । त्यसका लागि समयावधि तोकिएको छैन । नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । त्यसमा कृषिको आधुनिकीकरणलगायत विषय समेटिएका छन् । पूर्वाधार निर्माणको पाटो चिनियाँ लगानी आउने भएको छ ।

सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । हस्ताक्षर समारोहअघि भएको द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ । सोही कारण अनुदान सहायता अरनिको राजमार्गको स्तरोन्नतीका लागि खर्च गर्ने सहमति जुटेको हो । त्यस क्रममा नेपालले चीनसँग पूर्वाधार निर्माणको पाटोमा सहयोगको दायरा फराकिलो बनाउन आग्रह गरेको थियो । चिनियाँ पक्षले त्यसमा पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । यसअघि चीन सरकारले बाढीपहिरो पीडितका लागि १० लाख अमेरिकी डलर नगद दिने घोषणा गरेको थियो ।

नेपाल भ्रमणमा रहेका चिनिया उपप्रधानमन्त्री वाङ याङले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप नगद उपलब्ध गराउने घोषणा गरेका हुन् । नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङ र नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारका बीच सो घोषणा गरिएको हो । त्यस्तै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् । पुरातत्व विभागका अनुसार उक्त दरबार शतप्रतिशत चिनियाँ सहयोगमा पुनर्निर्माण हुन लागेको हो । जसको लागत करिब १६ करोड रुपैयाँ अनुमानित छ । पुनर्निर्माण क्रममा विभागको परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरीवेक्षणको भूमिका रहनेछ ।

 



प्रतिक्रिया दिनुहोस्