Logo

मंसिरमा मिति घोषणा गरेर चैतमा चुनाव गर्ने देउवाको रणनीति, दलहरुसँग छलफल गर्ने तयारी



साउन ३१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत महिनामा प्रदेश र संसदको चुनाव गर्ने तयारी गरेको खुलासा भएको छ । सबैतिरबाट बाधा अड्चन आएपछि मंसिर महिनामा मिति घोषणा गरेर चैतमा चुनाव गर्ने मनसायमा प्रधानमन्त्री देउवा पुगेको नेपाली कांग्रेसका एक उच्च नेताले बताएका हुन् । रिपोर्टर्स क्लबसँग कुरा गर्दै ति नेताले चैतमा चुनाव गर्ने रणनीतिमा देउवा रहेको जिकिर गरेका हुन् । यसबारेमा देउवाले अन्य दल र नेतासँग प्रस्ताव गर्ने बताइएको छ ।
संविधान अनुसार माग सात गतेभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भनिए पनि त्यो बाध्यता नरहेको कांग्रेस नेताले बताए । माग सात गतेभित्र चुनावको मिति घोषणा गरेर चैतभित्रमा चुनाव सम्पन्न गराउँदा कानुनी बाधा नहुने दाबी गरिएको छ ।

निर्वाचन आयोगले मंसिर महिनाभित्र चुनाव गर्नका लागि मिति घोषणा गर्न दबाब दिइरहेका बेला देउवाले चुनाव नै पछि धकेल्ने तयारी गरेका हुन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले समेत समयमा नै प्रतिवेदन बुझाउन नसकेपछि देउवालाई चुनाव सार्न सजिलो भएको छ । मंगलबार निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद सकिए पनि आयोगले निर्वाचन क्षेत्रका बारेमा टुङ्गो लगाउन नसकेपछि सरकार अप्ठ्यारोमा परेको थियो । अब आयोगलाई १५ दिनको समयसिमा थप्ने बताइएको छ । उता निर्वाचन आयोगले पनि साउन महिनाभित्र चुनावका लागि मिति घोषणा गर्न सरकारलाई दबाब दिदै आएको थियो ।
अर्कोतिर संविधान संशोधन मार्फत राष्ट्रिय जनता पार्टीको माग पूरा गराएर सबैलाई चुनावमा सहभागि गराउने रणनीति लिएका देउवाले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । मंगलबार संसदमा संशोधन प्रस्ताव दर्ता गराउने तयारी भए पनि प्रस्ताव फेल हुने निश्चित भएपछि सरकार पछि हटेको हो । राजपाले समेत संशोधन प्रस्ताव फेल हुने देखेपछि केही दिनका लागि पेश प्रस्ताव पेश गर्ने कार्यक्रम स्थगित गर्न सरकारलाई सुझाब दिएको थियो ।
भदौको पहिलो हप्ता भारत भ्रमणको तयारी गरेका देउवाले भ्रमणपश्चात मात्रै बाँकी सबै कुरा सार्वजनिक गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्