Logo

संविधान संशोधनमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह



काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा आज प्रस्तुत भएको संविधान संशोधन प्रस्तावमा सहयोग गर्न संसद्मा प्रतिनिधित्व गर्ने दललाई आग्रह गर्नुभएको छ ।

आज प्रधानमन्त्रीको बोलाउनुभएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गर्नुभएको हो ।

बैठकमा संशोधनको पक्ष र विपक्षमा दलले आआफ्नो धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्रीले बाढीपीडितको राहत तथा उद्धारमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै त्यसमा सबै दलको समन्वय आवश्यक रहेको बताउनुभएको थियो ।

आजको बैठक संविधान संशोधन, बाढीपीडितको उद्धार तथा राहत र केन्द्र तथा प्रदेशको निर्वाचन एकै चरणमा गर्ने विषयमा केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधनको आवश्यकता अहिले नरहेको धारणा आफ्नो पार्टीले बैठकमा राखेको बताउनुभयो ।

बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधनपछि निर्वाचनमा भाग लिने वातावरण बन्ने भन्दै छिटो पारित गर्न माग राखेको थियो । बैठकपछि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा संशोधन प्रस्तावमा सकारात्मक परिणाम आउने अपेक्षा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी निर्वाचन विरोधी होइनाँै, निर्वाचनमा जाने वातावरण बनाए हामी स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन्छौँ । रासस



प्रतिक्रिया दिनुहोस्