Logo

रामशरण महतले लगाए देउवामाथि काममा सुस्तपनको आरोप



त्रिशूली (नुवाकोट), ३२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारको सुस्तपनले गर्दा भूकम्पका कारण ध्वस्त भएका निजि र सरकारी संरचनाको पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभएको छ ।

आज बट्टारमा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभाको उद्घाटन गर्दै डा महतले सरकारले पुनःनिर्माणलाई तीव्रता दिन नसक्दा दाताको विश्वास र सहयोगसमेत कम हुँदै गएको बताउनुभयो । “सरकार सत्ता स्वार्थमा मात्र अल्झिन हुँदैन । दाताको सहयोग र विश्वास बढाउन पनि सक्रिय हुनुपर्छ”– उहाँले भन्नुभयो, “दाता सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार सहयोग भित्र्याउन पहल गर्नुपर्छ ।”

नेता डा महतले संविधानको सफल कार्यान्वयनका लागि आगामी माघ ७ गतेभित्र प्रदेश र संसदीय निर्वाचन सम्पन्न गराउन पनि आग्रह गर्नुभयो । “चुनाव गर्न नदिन विभिन्न षडयन्त्र भइरहेका छन् । तर दल बेलैमा सचेत भएर निर्वाचनमा केन्द्रित हुनुपर्छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले देशको विकासका लागि शैक्षिक विकास प्रमुख रहेको बताउनुभयो ।

कार्यक्रममा डा महतले क्याम्पसले समसामयिक अनुसन्धानमूलक लेखको संगालो ‘जर्नल’ पनि विमोचन गर्नुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको आर्थिक एवं शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै रु दुई करोड ५९ लाखको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्