Logo

हिमाल, पहाड र तराई–मधेशको एकताका लागि माओवादीले जित्नुपर्छ: ‘प्रचण्ड’



जनकपुर, भदौं १ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल, पहाड र तराई–मधेशको एकताका लागि माओवादी केन्द्रले जित्नुपर्ने बताउनु भएको छ । बिहीबार जनकपुरमा शहिद चन्द्रेश्वर मण्डलको शालिक अनावरण गर्दै प्रचण्डले राष्ट्रिय एकताका लागि माओवादीले जित्नुपर्ने बताउनु भएको हो ।

शालिक अनावरणपूर्व आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाल हिमाल, पहाड र तराई–मधेश मिलेर बनेको सुन्दर देश हो । हाम्रो राष्ट्रिय एकता र विविधता धेरै महत्वपूर्ण छ । तर, यहाँ एकथरि मान्छेहरु पहाडलाई मात्रै नेपाल ठान्छन्, अर्कोथरि मान्छेहरु मधेशलाई मात्रै नेपाल ठान्छन् । यी दुवै सोच घातक प्रवृत्ति हुन् ।

सबैलाई बराबर अधिकार र पहिचान दिएर हिमाल, पहाड र तराई–मधेशबीच सुदृढ एकता कायम गरेर मात्रै राष्ट्रिय एकता बलियो बनाउन सकिन्छ । राष्ट्रिय एकता बलियो पार्न माओवादीले जित्नुपर्छ, अतिवादी सोचहरुले हार्नुपर्छ ।’

कार्यक्रममा मातृका यादव, श्रवणकुमार यादव लगायतका माओवादी नेताहरुले पहिचान, अधिकार र सर्वहारा वर्गका निम्ति लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताउनु भयो । सभामा नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य मदनकुमार सिंह लगायतका ३ दर्जन नेता कार्यक्रम विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शालिक अनावरणसँगै बिहीबार नै अध्यक्ष प्रचण्डले जनकपुर–१८ मा रहेको श्री माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विद्यालयको भौतिक र शैक्षिक विकासका लागि आफ्नो सधैं साथ रहने बताउनु भयो ।

 



प्रतिक्रिया दिनुहोस्