Logo

प्रधानमन्त्री तथा मन्त्रीहरु हेलिकप्टरमा सरर, बाढी पीडितहरु अझैपनि चिसोले थरर !



काठमाडौं, २ भदौ । तराई–मधेशको भू–भागमा अविरल वर्षाका कारण गएको बाढि पहिरोले ठूलो धनजनको क्षति भएको छ । मानवीय क्षति पनि त्यतिकै भएको छ । तर विपद् व्यवस्थापनमा सरकारले ढिलासुस्ती गरिरहेको गुनासो पीडितहरुले पोख्न थालेका छन् ।

पीडितहरुको लागि सरकारले कुनै गम्भिरता प्रर्दशन गर्न नसकेको गुनासो पीडितहरुले पोख्न थालेका छन् । खासगरी अति प्रभावित जिल्लाहरुमा प्रधानमन्त्री, मन्त्रीहरु तथा प्रमुख दलका शीर्ष नेताहरु पुगेर पीडितहरुको दुःखेको मनमा मल्हम पट्टी लगाउनुपर्ने ठाउँमा प्रधानमन्त्री तथा मन्त्रीहरुले नै पीडितहरुलाई हिस्स बनाउने काम गरेका छन् ।

प्रभावित जिल्लामा प्रधानमन्त्री तथा मन्त्रीहरु हेलिकप्टर चढेर पुग्न त पुगे, तर उनीहरुले पीडितहरुको लागि एउटा माखो समेत मार्न सकेनन् । उनीहरु रित्तो हात पीडितहरुसमक्ष पुगेको भन्दै सर्वसाधारणहरुले अहिले आक्रोश पोख्न थालेका छन् ।

सरकारले पीडितहरुको राहतको लागि एकद्धार प्रणाली अपाउनुपर्ने निर्देशन दिएको छ । जसका कारण पीडितहरुले अहिलेसम्मपनि उचित राहत पाएका छैनन् । सरकारको यस्तो रवैयाका कारण पीडितहरुलाई सहयोगी हातहरुबाट प्राप्त हुने सानातिना सहयोग समेत अहिलेसम्म हात लागेको छैन् । सरकारकै कतिपय मन्त्रीहरुले समेत सरकारको यस्तो निर्णयको खुलेरै आलोचना गरेका छन् ।

खासगरी राहत वितरणमा भएको ढिलासुस्ती र एकद्धार प्रणालीको नै सबैले आलोचना गरिरहेका छन् । हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आपुर्तिमन्त्री शिवकुमार मण्डलले भनेका थिए,‘बाढि पीडितहरुको लागि सरकारले उचित निर्णय गरेको छैन, खासगरी एकद्धार प्रणाली अर्थात राहत वितरण संरचनात्मक प्रणाली नै भद्दा छ, यसलाई भत्काएर नयाँ प्रणाली बनाउनुपर्छ, भुकम्पपीडितलाई जस्तै बाढि पीडितहरुको लागि पनि प्राधिकरण गठन गर्नुपर्छ।’

हुन त पैसाको अभावका कारण राहत तथा उद्धारमा कुनै समस्या छैन । अहिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ तथा संस्थाहरुबाट धमाधम सहयोग रकमहरु जम्मा भैरहेका छन् । तर बास्तविक पीडितहरुले अहिलेसम्म राहत पाएका छैनन् । उनीहरु अहिलेपनि आशमै बसिरहेका छन् ।

देशको आन्तरिक विपद् व्यवस्थापनमा सहयोग र्पुयाएर सामाजिक सद्भाव कायम गराउन पनि नेपालीहरुले व्यक्तिगत रुपमा पनि सहयोग रकमहरु ज्ुटाईरहेका छन् । तर उक्त रकमहरुको अहिलेसम्म पनि उचित सदुपयोग हुन सकेको छैन् ।

राहत बोकेर प्रधानमन्त्री तथा मन्त्रीहरु आए भन्ने ठूलो आशाले पीडितहरु हेलिकप्टर ल्याण्ड हुने स्थानसम्म हौसिएर पुगेका तर सरकारका प्रतिनिधिहरु रित्तो हात र खोक्रो आश्वासनको पोको बोकेर फर्किएका खबरहरु समेत पछिल्ला समय बाहिर आईरहेका छन् । यसले पनि के देखाउँछ भने पीडितहरु अझैसम्म पनि आशामै दिनरात काटिरहेका छन् । लाखौं मानिसहरु घरबार विहिन भएका छन् । उनीहरु विद्यालय लगायतका सार्वजनिक स्थलहरुमा आश्रय लिएर बस्न बाध्य छन् ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा राहत बाँड्न टीकापुर पुगे। प्रधानमन्त्रीले बाढीपीडितहरुसँग साक्षात्कार गरेर राहत वितरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यहाँ पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुलाई खाद्यन्न, लत्ताकपडा र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। तर, उनी टिकापुरको कैलाली एयरपोर्ट ओर्लेर सरकारी कर्मचारीहरुबाट ब्रिफिङ लिए। त्यहाँबाटै फर्किएका थिए ।

प्रधानमन्त्री आएको खबर मात्रै सुनिएको तर देउवा आफूहरुलाई हेर्न समेत नआएको त्यहाँ पीीडतहरुले गुनासो पोखेका छन् ।

यता महोत्तरीका निर्वाचित सासंद समेत रहेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखेरेलपनि दुई पटक हेलिकप्टरमार्फत आफ्नो क्षेत्र पुगे । तर उनी पनि रित्तो हात नै त्यहाँ पुगेका थिए । उनी आउने खबर थाहा पाएपछि हजारौंको संख्यामा पीडितहरु राहतको आशले उनी भएकहाँ पुगेका थिए । तर उनको पनि ताल निको नभएपछि पीडितहरु रिक्ता हात घर फर्किएका थिए ।

मन्त्रीहरुको नै यस्तो चाल भएपछि सर्वसाधारण जनताले अहिले देशमा सरकार भएको वा नभएको कुनै कुरा थाहा नभएको बताउन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरु बाढि पहिरो प्रभावित क्षेत्रमा पुग्न समेत सकेका छैनन् । उनीहरु हेलिकप्टर ल्याण्ड हुने स्थानमा पुगेर पीडितहरुलाई खोक्रो आश्वासन दिएर फर्किएका छन् । सरकारका प्रतिनिधिहरु हेलिकप्टरमा सरर तर पडितहरुको मन भने अहिलेपनि राहतको आशामा थरर भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्