Logo

महाकाली नदी नेपाल र भारतको साझा हो, पानी र विजुली आधाआधा बाँड्नुपर्छ : माधवकुमार नेपाल



प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यहा बोलेका केही कुरालाई लिएर नेकपा एमालेले आपत्ति जनाएको छ । यही विषयमा केन्द्रित रहेर ऋषि धमलाले एमालेका नेता माधबकुमार नेपालसँग कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीमा महाकाली सन्धी, संविधान संशोधन र प्रदेश नम्बर २ को चुनावले पनि प्रवेश पाएको छ । नेपालसँगको अन्तवार्ताका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको नेकपा एमालेले किन बिरोध गरेको हो ?
मैले विस्तृतमा केही बुझेको छैन । अहिले जिल्लातिर छु । पार्टीको बैठकमा थिइन । तर देउवाले आन्तरिक विषयलाई त्यहाँ गएर रिपोर्टिङ गर्नु अनुचित छ ।

तपाईं आफैँ पनि भारतमा गएर १२ बुँदे सम्झौता गर्नुपर्छ भन्ने व्यक्ति हो । प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएर त्यहाँको नेताहरुसँग कुरा गर्नुभएकै हो । अहिले प्रधानमन्त्री देउवाले नेपालको संविधान संशोधन गछौँ भन्दा कसरी अनुचित भयो ?
१२ बुँदे सम्झौताको प्रमुख पात्र म हुँ । त्यस विषयमा हामीले भारतलाई कुनै जानकारी दिएका थिएनौँ । भारतको उपस्थिती पनि थिएन । अनुमति लिएको पनि हैन र कुनै रिपोर्टिङ पनि गरिएको थिएन । १२ बुँदे सम्झौताको विषयमा कुनै भ्रम नरहे हुन्छ । उक्त सम्झौता म, गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहनलबिचमा भएको थियो । त्यसबेला दाहालसँग नेपाली भूमिमा कुनै पनि भेटघाट र सहमति गर्न सक्ने स्थिती नभएकाले मात्रै भारतमा गएर गरिएको हो । भारतको कुनै सहभागिता छैन ।

तपाई महाकाली सन्धी पारित गराउनका लागि भूमिका खेल्नुभएको थियो । विभिन्न आन्दोलनमा पनि भारतको सहयोग लिनुभएको थियो । अहिले भ्रमण नसकिदै देउवाको अभिव्यक्तिको किन विरोध गर्नुहुन्छ ?
मैले आन्दोलनका क्रममा भारत र चिन, युरोपेली युनियन लगायतका देश र अन्तराष्ट्रिय संस्थाको सहयोग लिएको हुँ । तर त्यो सहयोग पैसा, व्यक्ति, आदेश वा कुनै कुराको थिएन । हामी यस्तो गर्दैछौँ भन्ने सन्देश दिएका मात्र हौँ । राजालाई मात्र बोकेर हिँड्न सकिदैन भनेर प्रजातन्त्रका लागि लिएको सहयोग थियो । महाकाली सन्धीको सन्दर्भमा २०४८ सालमा मदन भण्डारीले जिम्मेवारी दिए बमोजिम सिपि मैनाली, प्रेमसिं थामी र म भारत गएर कुरा गरेकै हो । भारत र नेपालबिचको सन्धी गर्नका लागि भारतसँग नै कुरा गर्नुपथ्र्यो । नेपाल र भारतको बिचमा रहेको साझा नदी महाकालीमा दुई पक्षबिच सहमति नभैकन त्यहाँको पानी आधाआधा बाँड्न र विजुली उत्पादन गर्न सकिदैन । त्यसैले हामीले महाकाली नदीमा विजुली निकाल्ने र आधा आधा बाँड्ने सहमति गरेका हौँ । पानीबाट हुने अन्य लाभ पनि आधाआधा बांँड्ने सहमति गरिएको थियो । मैले पहिला पनि भनेको थिँए, “महाकाली नदी साझा हो । पानी आधाआधा हो ।” पञ्चेश्वर परियोजनाको पक्षमा म अहिले पनि छु । यो परियोजना बनाउन धेरै ढिलो भइसक्यो भनेर मैले पटक पटक भनेको छु । भारतीय पक्षसँग मैले पटक पटक यो कुरा उठाएको पनि छु । तर त्यो परियोजनाबाट नेपाललाई कम र भारतलाई बढि लाभ हुने कुराको पक्षमा म छैन ।

प्रधानमन्त्री देउवाले कोशी बाँध लगायत अन्य बाँधले नेपालमा पारेको प्रभावको बारेमा पनि मोदीसमक्ष राख्नुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
मैले सबै विषयमा जानकारी लिइसकेको छैन । यदी देउवाले राम्रा कुरा उठाउनुभएको छ भने धन्यवाद । चुक्नुभएको छ भने आलोचना । घुँडा टेक्नुभएको छ भने त्यसको लागि निन्दा । सबै कुरा थाहा नभएकाले म धेरै बोल्ने पक्षमा छैन ।

नेपालका नेताहरुले भातसँग राम्रोसँग कुरा राख्न सके सम्बन्ध राम्रो हुन्छ । तर सम्बन्ध सुधार गर्न नसक्ने त नेताहरु नै हुन नि ?
मैले २०५१ सालमा त्यतिबेलाका भारतीय प्रधानमन्त्री नरसिंह रावलसँग स्पष्ट कुरा राख्दा धेरै कुरामा प्रष्ट पार्न सकिएको थियो । त्यसैले नेपालको तर्फबाट भारत भ्रमणमा जो गए पनि तयारीका साथ जानुपर्छ । शीर ठाडो पारेर कुरा राख्न सक्नुपर्छ । तर नेपाली भ्रमणकारी तयारी बिना जान्छन् । भारतीय पक्षबाट केही कुरा आउनसाथ आत्तिने, डराउने अनि शीर निहु¥याउने गर्छन् । नेता, मन्त्री, प्रधानमन्त्री कर्मचारी सबैले यस्तो कमजोरी देखाउने गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले स्थानीय तहको दुई चरणको चुनावप्रति खुशी व्यक्त गर्नुभयो । बाँकी चुनावको सफलताको लागि शुभकामना पनि दिनुभयो । यसलाई कसरी लिनुभएको छ ?
नेपालमा चुनाव होस् भन्ने कुरा राख्नु राम्रो हो । नेपालको हितका पक्षमा राखिएका सबै कुरा राम्रा हुन् ।

२ नम्बर प्रदेशको स्थानीय तहको चुनावको तयारी कस्तो हुँदैछ ?
तयारी तिब्र रुपमा अगाडि बढेको छ । म एकहप्तादेखि रौतहटको गाउँगाउँमा गएको छु । यो चुनावबाट नेकपा एमालेले ठूलो आशा पनि गरेको छ । एमालेमा प्रवेश गर्नेको लहर पनि चलेको छ ।

मधेशमा एमालेको अवस्था कस्तो हुने अपेक्षा गर्नुभएको छ ?
असाध्यै राम्रो हुन्छ । नम्बर एक पार्टी हुन्छ । यसअघिको चुनावमा भएको राष्ट्रिय रेकर्ड मेन्टेन हुन्छ ।

चुनावी तालमेल गर्ने सम्भावना कति छ ?
अवस्था र आवश्यकता अनुसार चुनावी तालमेल गछौँ । हामी कसैलाई पनि माइनस गर्दैनौँ ।

संविधान संशोधनमा सहयोग नगरेकाले मधेशमा तपाईहरुलाई जनमत लिन गारो होला नि ?
म मधेशको गाउँ गाउँ घुमेको छु । जनताले राम्रो स्वागत गरेका छन् । आज मात्रै एक हजार जना एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी मधेशविरोधी हो भन्ने आरोप छ नि ?
जनताले एमालेलाई बुझेका छन् । त्यसैले सम्मान दिएका छन् । मधेशी जनताले एमाले पार्टीबाट धेरै आशा गरेका छन् । एमालेले नै बूढापाकालाई भत्ता दियो, तराई आवास कार्यक्रम ल्यायो, हुलाकी बाटो एमालेले नै ल्याएको हो । यो सबै कुरा मधेशी जनताले बुझेका छन् ।

तर एमालेले मधेशी जनतालाई अधिकार दिएन भनिएको छ ।
मधेशी जनतालाई पूरा अधिकार दिइएको छ । त्यहाँको भाषा, संस्कृति र पहिचानको रक्षाका लागि नेकपा एमाले प्रतिबद्ध छ ।



प्रतिक्रिया दिनुहोस्