Logo

चुनावमा हाम्रो पार्टीले एमालेसँगपनि तालमेल गर्छ : रायमाझी



काठमाडौं, १५ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप-नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि चुनावी तालमेल गर्ने खुलासा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रायमाझीले भने,‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं, यो विषयमा हामी छलफल गरेर एउटा टुँगोमा पुग्छौं।’ यद्धपी उनले चुनावी तालमेलको लागि सबैसँग खुल्ला छलफल गर्ने यदि सहमति नभए पार्टीले एक्लैपनि चुनाव लड्ने स्पष्ट पारे ।

त्यस्तै उनले चुनावको लागि भनेर पार्टीले अहिल्यै नै यो पार्टी वा त्यो पार्टी भनेर कुनै पार्टीलाई पनि प्राथमिकतामा नराखेको जिकिर गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने,‘सबै पार्टी हाम्रो लागि प्राथमिकतामा छन्, एमालेसँगपनि हामी तालमेल गर्छौं, संभावना छ।’

२ नम्बर प्रदेशको चुनावमा आफ्नो पार्टीले पहिलो स्थान हाँसिल गर्ने उनको दाबी छ । नेता रायमाझीले थपे,‘माओवादीले जहिल्यै पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ, मधेशी, आदिवासी, जनजाति, थारु, महिला सबैको अधिकारको लागि अन्तिम समयसम्मपनि लड्ने पार्टी माओवादी हो, अहिले त्यसैले मधेशमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ।’ उनले पटक–पटक आफ्नो पार्टी मधेशमा एक नम्बर पार्टी बन्ने दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्