Logo

भ्रष्टाचार नियन्त्रण सम्बन्धमा संकल्प प्रस्ताव संसदमा, के गर्लिन सभामुख ओनसरी घर्तीले ?



भदौ १७, काठमाण्डौ । सासंद जनकराज जोशीले भ्रष्टाचारसम्बन्धी गतिविधि बढेर गएकाले संसदमा भ्रष्टाचार नियन्त्रण सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गराएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै माओवादी केन्द्रका सांसद जोशीले भ्रष्टाचारका विषयमा राष्ट्रिय रुपमा नै बहस हुनुपर्ने ठानेर प्रस्ताव दर्ता गराइएको बताए ।

सांसद जनकराज जोशी

जोशीको प्रस्तावमा पाँचजना सांसदले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १५ दिनभित्र विधेयक पेस गर्न निर्देशन दिनुपर्ने मागसहित संकल्प प्रस्ताव दर्ता गरिएको हो । भ्रष्टाचारजन्य कार्यलाई छानबिन गर्ने निकाय छरिएर रहेकाले एकीकृत गरी नीतिगत, कानूनी संरचना बनाउन कार्यदल पेस गर्न सरकारलाई संसदले निर्देशन दिनुपर्ने माग संकल्प प्रस्तावमा छ ।
भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट खाका र निर्देशन सरकारले दिन्छ कि भनेर संकल्प प्रस्ताव प्रस्तुत गरिएको जोशीको तर्क छ । “भ्रष्टाचार अहिले साह्रै ओझेलमा प¥यो । ठूला भ्रष्टाचारका घटना बढेर गए । तर सजगता र पहलकदमी लिइएन ।” सांसद जोशीले भने ।
भ्रष्टाचारसम्बन्धी संकल्प प्रस्ताव दर्ता भएको पहिलो पटक भएकाले यसले केही निश्कर्ष निकाल्ने जोशीको अपेक्षा छ । संकल्प प्रस्ताव पास भएको खण्डमा संसदले दिएको निर्देशन सरकारले पालना गर्नै पर्ने व्यवस्था संविधानमा भएकाले यसले सार्थकता हासिल गर्नेसमेत जोशीको विश्वास छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी लगायतका दलसहित सुशासन समितिसँग समेत छलफल गरेर प्रस्ताव दर्ता गराइकाले संकल्प प्रस्ताव पास हुने जोशीको दाबी छ । तर कुनै पनि दलका नेताले लिखित रुपमा सहमति नजाएको जानकारी दिदै जाशीले भने, “भ्रष्टाचारको विरुद्धमा लागेर प्रस्ताव फेल गराउन लागियो भने राजनीति नै समाप्त हुन्छ ।” सभामुखले प्रस्तावलाई स्विकृत गरिदिने विश्वास गर्दै सांसदले पनि सहयोग गर्ने उनले बताए । सभामुखले चाहेको खण्डमा प्रस्ताव अगाडि बढ्ने जोशीको दाबी छ । विधिको नियम नै सभामुखले अगाडि बढाउनुपर्ने भएकाले प्रस्ताव नरोकिने विश्वास गर्दै जोशीले भने, “अब सभामुखले के गर्नुुहुन्छ त्यो हेर्न बाँकी छ ।”
तर जोशीले सभामुखले सकारात्मक कदम चाल्ने विश्वास जोशीले लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्