Logo

२ नम्बर प्रदेशमा ‘नम्बर वान’ पार्टी बन्न जोसँगपनि चुनावी तालमेल गर्ने प्रचण्डको प्रस्ताव



देउवा कदममा गुटैगुट

काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि पार्टीले जोसँग पनि तालमेल गर्न सक्ने भन्दै चुनावी तालमेलको लागि पार्टी खुल्ला रहेको प्रस्ताव गरेका छन् ।

प्रदेश नम्बर दुईको चुनावमा आफ्नो पार्टीलाई पहिलो बनाउने उद्देश्यसहित सचिवालय बैठक वीरगञ्जमा आज बसेको छ । उक्त बैठकमा अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा पार्टीलाई जसरीपनि पहिलो बनाउने योजना रहेको भन्दै वस्तुस्थिति हेरेर जोसँगपनि तालमेल गर्ने प्रस्ताव राखेका छन् ।

उनको प्रस्तावमा सकेसम्म पहिलो प्राथमिकतामा कांग्रेससँग चुनावी गठबन्धन नै गरेर अघि बढ्ने रहेको छ । उनले बैठकमा कांग्रेससँग यसअघिका दुई चरणको निर्वाचनमा गरेको तालमेलले पार्टीलाई राम्रो स्थानमा ल्याएको बताएका थिए । त्यसैले यो पटकको निर्वाचनमा पनि कांग्रेससँगै गठबन्धन गरेर अघि बढ्नुपर्ने अन्य सचिवालय नेताहरुको पनि धारणा राखेको स्रोतले जनायो ।

कांग्रेससँग तालमेल गरेर जानुपर्छ भन्नेमा नेताहरु क्रमशः कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुन लगायत छन् । तर अर्को खेमाले भने वामपन्थीहरुवीच तालमेल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । एमालेसँग तालमेल गरेर अघि बढ्नुपर्छ भन्नेमा नेताहरु क्रमशः नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, रामबहादुर थापा र शक्ति बस्नेत रहेका छन् ।

माओवादीले मधेसलाई निकै प्राथमिकता दिएको छ । हिजोमात्रै माओवादी केन्द्रका नेता दिनानाथ शर्माले मधेशको सबैभन्दा शक्तिशाली मित्र भनेको नै आफ्नो पार्टी रहेको दाबी गरेका थिए । उसो त पार्टी अध्यक्ष प्रचण्डसमेत यतिवेला मधेशमा डेरा जमाएर बसेका छन् ।

त्यस्तै बैठकले दुई नम्बर प्रदेशको निर्वाचनमा सहभागि हुने उम्मेदवारहरुको टुंगो लगाउने बताईएको छ । अधिकांश काठमार्डौमा रहेका नेताहरु यही बैठकका लागि वीरगन्ज पुगेका हुन् । त्यस्तै बैठकले कांग्रेस र एमालेबाहेक संघीय समाजवादी फोरम नेपाल, राजपा, विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग पनि चुनावी तालमेल गर्ने योजना बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्