Logo

आयल निगम जग्गा खरिद प्रकरण : अख्तियारद्धारा पूर्वमन्त्री बोहराको खोजी



काठमाडौं, १७ भदौ । अख्तियार अनुशन्धान आयोगका आयुक्तहरुको गोप्य बैठक सम्पन्न भएको छ । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासम्मलाई कारवाही गर्नेबारे आजको बैठकमा आयुक्तहरुवीच आन्तरिक सहमति भएको आयोग निकट उच्च स्रोतले जनाएको छ ।

पेट्रोलियम पदार्थ भण्डारणको लागि आयल निगमले जग्गा खरिद गरेको थियो । उक्त खरिदमा डेढ अर्ब रुपैयाँ बराबर घोटाला भएको कुरा बाहिरिएको थियो । यो तथ्य बाहिरिएपछि आयोगले उक्त घोटालामा संलग्नहरुलाई जतिसक्दो चाँडो कारवाही गर्नेगरि आन्तरिक तयारी गरेको छ ।

निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन समेत सांसदहरुले गरिसकेका छन् । उक्त खरिद प्रकरणमा पूर्वमन्त्री दिपक बोहोराको संलग्नता रहेको विवरण बाहिर आएको थियो । सोहीका आधारमा आयोगले पूर्वमन्त्री बोहरालाई खोजी गर्ने निधो गरेको छ।

निगमका उच्च अधिकारीदेखि जग्गा एजेन्ट, स्थानीय तह, नापी, मालपोतका कर्मचारीसमेतको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको अनुसन्धानमा संलग्न सांसदको ठहर छ ।

निगमले झापा, सर्लाही, चितवन, भैरहवामा दुई अर्ब रुपैयाँको जग्गा खरिद गरेकोमा त्यसको वास्तविक मूल्य भने ५० करोडभन्दा बढी हुने अवस्था नदेखिएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सदस्य रामवीर मानन्धरले पत्रकार ऋषि धमलासँग बताएका छन् । मानन्धर जग्गा अनियमितता छानबिन समितिका सदस्य हुन् ।

त्यस्तै उक्त खरिद प्रकरणमा व्यापारी दिपक मल्होत्राको समेत संलग्नता रहेको आयोगको ठहर छ । अनुशन्धानमा दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने आयोगको निर्णय रहेको छ । सोही अनुसार आयोगले अहिले पूर्वमन्त्री बोहराको खोजी सुरु गरिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्