Logo

प्रचण्डको दाबी : २ नं प्रदेशको पहिलो पार्टी माओवादी केन्द्र



पर्सा, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताउनुभएको छ ।

उहाँले २ नं प्रदेशको निर्वाचनमा परिवर्तनकारी र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर जो सुकै पार्टीसँग चुनावी तालमेल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रेस सेन्टर पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिवालय बैठकको निर्णयलाई सार्वजनिक गर्दै अध्यक्ष दाहालले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेल गर्न विशेष ग्राह्यता दिने निर्णय गरिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकीकरणपछि वीरगन्जमा भएको पहिलो सचिवालय बैठकले पार्टी एकीकरण, पार्टी प्रवेश र ध्रुवीकरणले निर्माण भएको ताजा परिस्थितिलाई पार्टीभित्र माथिदेखि तलसम्म समायोजन गर्न संरचना निर्माण गरिएको र एक हप्ताभित्र माथिदेखि तलसम्म समायोजन टुंगोमा पु¥याउने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले बैठकले मंसिर १० र २२ गते हुने प्रदेशसभा र केन्द्रको निर्वाचनमा परिवर्तकारी, संघीयता पक्षधर शक्तिको बहुमत भए मधेसी जनताको अधिकार र पहिचानलाई स्थापिन गर्न संशोधन प्रस्तावलाई पारित गर्न पहल गर्ने, सरकाको कामको समीक्षा गर्दै बैठकले सकरकारको काम कारबाहीलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने, संसदमा दर्ता रहेको प्रतिनिधि सभा र र प्रदेशसभा सदस्यको विधेकालाई चाँडोभन्दा चाँडो पारित गरी निर्वाचनको वातावरण निर्माण मद्दत पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले तराईमा आएको भीषण बाढीबाट प्रभावित आम जनतालाई राहत दिन संकट क्षेत्र घोषणा गरी प्रभावितको राहतका लागि विषेश प्याकेज ल्याउन सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उहाँले हाल निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति पार्टीको असन्तुष्टि रहेकाले निर्वाचन क्षेत्रलाई पुनरावलोकन गर्न प्रधानमन्त्रीसँग छलफल गर्ने प्रष्ट पार्नुभयो । माओवादी केन्द्रको पहिलो सचिवालय बैठक वीरगन्जमै गर्नुको मुख्य उद्देश्य २ नं प्रदेशको निर्वाचनलाई सफल बनाउनु रहेको उहाँको भनाइ थियो ।

आज मध्याह्न १२ देखि साँझ ५ः३० बजेसम्म होटल भिष्वामा बसेको माओवादीको सचिवालय बैठकलाई स्थानीय निर्वाचनको दृष्टिले महत्वपूर्ण रुपमा हेरिएको छ । बैठकमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, पार्टी प्रवक्ता पम्फा भुसाल, नेताहरु जनार्दन शर्मा, प्रभू साह, रामबहादुर थापालगायतका नेताको उपस्थिति थियो । रासस



प्रतिक्रिया दिनुहोस्