Logo

सचिव तथा सहसचिव विदेश जानेबारे जानकारी दिन सरकारसँग आग्रह



काठमाडौँ, १८ भदौ । निर्वाचन आयोगले सरकारका १० सचिव र १४ सहसचिव विदेश भ्रमणमा जान लागेको भन्ने सम्बन्धमा वास्तविकता दुई दिनभित्र खुलाई पठाउन सरकारसँग आग्रह गरेको छ ।

सरकारका उच्च पदस्थ अधिकृत विदेश भ्रमणमा जान लागेको भन्ने जानकारीमा आएको जनाउँदै आयोगले त्यस सम्बन्धमा वास्तविकता के हो ? दुई दिनभित्र जानकारी दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सन्दर्भमा यही भदौ १४ गते आचारसंहिता जारी गर्दै आयोगले संयुक्त राष्ट्र संघ, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा जान रोक लगाउने निर्णय गरेको थियो ।

राज्यको प्रतिनिधित्व गर्ने गरी विदेश भ्रमणमा पठाउनु पर्ने नै भए स्वीकृतिका लागि निर्वाचन आयोगमा सहमति माग गर्न पनि आयोगले भनेको छ ।

आचारसंहिताको पूर्णपालना गर्न डा कोइरालालाई ध्यानाकर्षण

यसैबीच, निर्वाचन आयोगले नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको नेतृत्वमा सो पार्टीका कार्यकर्ताहरुले चुनाव चिह्न अंकित टोपी र टि–सर्ट लगाई आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा संलग्न भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले भनेको छ, “तपाईँले नेतृत्व गर्नुभएको कार्यकर्ताले पार्टीको चुनाव चिन्ह अंकित टोपी, टी शर्ट वितरण गरी लगाई चुनावी प्रचार प्रसारमा संलग्न हुने क्रियाकलाप आचारसंहिता विपरीत हुने हुँदा यहाँलाई ध्यानाकषर्ण गरिएको छ, आउँदा दिनमा निर्वाचन आचारसंहिताको परिपालना पूर्णरुपमा गर्नु÷गराउनु हुन अनुरोध छ ।”

दुई हजार पर्यवेक्षक खटिने

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनको लागि पर्यवेक्षण गर्न करिब दुई हजारको संख्यामा पर्यवेक्षकलाई अनुमति दिने भएको छ ।

आयोगका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि केहीबाहेक अधिकांश अघिल्ला निर्वाचनको पर्यवेक्षणको अनुमति पाएका संस्था नै रहेको आयोगबाट थाहा भएको छ । आयोगले यस पटक ४४ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको हो ।

निर्वाचनमा पर्यवेक्षणको अनुमति पाउनेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल, मानव अधिकार तथा शान्ति प्रतिष्ठान नेपाल, अनौपचारिक सेवा केन्द्र नेपाल, नेपाल बार एशोसिएसनलगायत संस्था रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्