काठमाडौं, १९ भदौ। सुन तस्करीका समाचार बेला–बेला प्रकाशमा आइरहे पनि इतिहास मै पहिलो पटक ८८ किलो सुन एकै ठाउँबाट बरामद भएको छ । यति धेरै सुन बरामद भएको यो पहिलो पटक हो ।
प्रहरीले सोमबार बिहान राजधानीको ठमेलमा एउटा गाडीबाट उक्त परिमाणको सुन बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकका अनुसार गोप्य सुराकीका आधारमा आइतबार रातिबाटै निगरानीमा खटिएको प्रहरी टोलीले सोमबार बिहान एउटा गाडीबाट उक्त सुन बरामद गरेको हो ।
प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको छ । सुन तस्करीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त सुन चीनबाट केरुङ नाका हुँदै भित्र्याइएको आशंका गरिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ ।