Logo

किन बन्दैछ नेपाल सुन तस्करको “ट्रान्जिट प्याइन्ट” ? तस्करको सुन नेपाली बजारमा खपत नहोला र ?



भदौ २०, काठमाण्डौ । सोमबार काठमाण्डौमा ८८ किलो सुन बरामद भएपछि नेपालमा सुन तस्करको ठूलै संजाल छ भन्ने पुष्टी गरेको छ । ८८ किलो सुन बरामद अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको सुन बरामद हो । केरुङ नाकाबाट भित्रिएको सुनमा चिनिया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको छ ।

महानगरिय अपराध महाशाखाको टोली विशेष सूचनाका आधारमा बिहान २ बजे सुन बरामद गरिएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुन विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको महाशाखाका प्रमुख दिवेश लोहनीले बताए । सुन कसरी ल्याइएको थियो र कसरी समातियो भन्ने कुरा सार्वजनिक भइसकेको छ । तर सार्वजनिक हुन नसकेको कुरा महत्वपूर्ण छ । प्रहरीले सुन लुकाएर ल्याइएको सवारी साधनका चालकलाई पक्राउ गरेर ठूलै सफलता हात पारेजस्तो गरेको छ । तर प्रहरीले त्यति ठूलो परिमाणको सुन कसले तस्कर गरेको हो अर्थात मूख्य नाइके को हो भन्ने कुराको सुइँकोसम्म पाउन सकेको छैन ।

उक्त सुन कहाँ लगिँदै थियो भन्ने खुलेको छैन । प्रहरीका अनुसार १,२ जना मात्र नभई यसमा संगठित गिरोह नै संलग्न रहेको शंका छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बरामद गरेको ३५ किलो सुन ल्याउने समूहसँग अहिलेको तस्करीको ‘कनेक्सन’ खोतल्ने प्रयास प्रहरीले थालेको छ ।
यसभन्दा पहिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २२ किलो र गत वर्षको माघमा ३३ किलो बरामद गरेको थियो । तर सुन तस्करको जालो तोड्न प्रहरी सफल भएको छैन ।

सिजन हेरेर तस्कर, नेपाली बजारमा नै सुन विक्री हुने आशंका
नेपाली बजारमा अहिले सिजनको बेला दैनिक ४५ देखि ५० किलो सम्म सुन आवश्यक पर्छ । सिजन भन्नाले तिज र चाडपर्वसँगै विहेवारीको सिजनलाई मानिन्छ । अन्य दिन र महिनामा नेपाली बजारमा दैनिक ३० किलो सुन नेपाली बजारमा माग हुने गरेकोे छ । राष्ट्र बैंकले नेपाली बजारमा दैनिक औसत १५ केजी सुन माग रहेको भन्दै त्यति नै बेच्दै आएको छ । तर त्यसभन्दा ठूलो परिमाणमा बजारमा किनबेच हुने गरेको छ । के अवैध तस्करीको सुन नेपाली बजारमा बेचिन्छ छ त ? नेपाली सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन बहादुर विकका अनुसार नेपाल राष्ट्र बैंकले दैनिक १५ देखि २० किलो सुन, व्यवसायीलाई कोटा प्रणालीका आधारमा उपलब्ध गराउँदै आएको तर नेपाली बजारमा दैनिक ३० केजी सम्म खपत भईरहेको र बढीमा ५० केजीसम्म खपत हुने गरेको उनको भनाई छ । यसबाट के स्पष्ट हुन्छ भने तस्करले नेपाल भित्र्याएको सुन नेपाली बजारमा पनि खपत हुन्छ ।

जानकारहरूका अनुसार चीन र अन्य मुलुकबाट तस्करीमा एक केजी सुन भित्र्याउँदा पाँच लाख रुपैयाँसम्म फाइदा हुन्छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यसरी भित्रिएको सुन थोरै हिस्सा मुलुकभित्रकै सुन पसलमा खपत हुन्छ भने ठूलो मात्रा भारत पुग्छ । यस विषयमा भने महासंघका अध्यक्ष बिकले नेपाली बजारमा अवैध सुन किनबेच नहुने गरेको बताउंछन् । व्यवसायीले बताए पनि विश्वास गर्न सकिने स्थिती छैन । बरामद भएको सुनको मात्रा यति धेरै छ भने प्रहरीले सुइँको नपाइ हुने तस्करी हुने सुनको मात्राको अनुमान गर्न सकिदैन ।

सुन तस्करको निरन्तरता
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको साढे ३३ केजी अवैध सुन प्रकरणमा पनि प्रहरीले काठमाडौंका वैभवलक्ष्मी गोल्ड प्यालेस, आरके ज्वेलर्स र शालीमार ज्वेलर्सले अवैध रूपमा भित्रिएको सुन खरिद गरेको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । दुबईबाट अवैध भित्रिएको सुन काठमाडौंमा लिने आरोप लागेका रुविन भन्ने रामप्रताप खड्काले पसलहरूमा र्पुयाउने गरेको अभियोग लगाइएको थियो । जिल्ला अदालतमा १० लाख धरौटी बुझाएर छुटेका थिए । अवैध बाटोबाट नेपाल भित्रिने सुन स्थलमार्ग हुँदै चीनबाट र हवाईमार्ग हुँदै मलेसिया तथा खाडी राष्ट्रबाट आउने गरेको छ । गत पुसमा विमानस्थलबाहिर बरामद साढे ३३ केजी सुन भने यूएईबाट ल्याइएको थियो ।

त्यस्तै, १५ गते काठमाडौं र जनकपुरबाट बरामद १५ केजी सुन तस्करी घटनामा चीनबाट भित्रिएको सुनको एक हिस्सा भारत पुगेको तथ्य सार्वजनिक भएको थियो । चीनबाट काठमाडौं आएको २१ केजी सुनमध्ये दुई केजी भारत र्पुयाएर बेचिसकिएको र एक केजी भारत लैजाँदै गर्दा जनकपुरबाट बरामद भएको थियो । सरकारले तोकेको कोटाले बजार मागको ३० प्रतिशत पनि नधान्ने भएपछि व्यवसायी आन्दोलनमै उत्रिए । दैनिक ४५ किलो आन्तरिक माग रहेको भन्दै कोटा बढाउन दबाब दिए । त्यसो त माग अपुग भएको भन्दै अव सरकारले दैनिक रुपमा वितरण गर्दै आएको सुन ५० केजी सम्म नपुरयाए महासंघले आन्दोलन गर्ने चेतवानी नै दिएका छन् ।
पुराना सुन दैनिक १५ किलोसम्म बजारमा फर्कने गरेको सुन व्यवसायी दाबी गर्छन् । सो अनुसार मागभन्दा बढी १५ किलोमात्रै सुन बजारमा पुग्दा दैनिक १५ किलो सुन अपुग नै देखिन्छ । यसले कतै नै कतै अवैध सुनको बजार नेपाली सुन बजार हुृदै भारत पुग्ने गरेको प्रष्ट हुन्छ ।

कैरुङ नाका हुँदै आउने बाटो सुन तस्करका लागि, विकल्पममा हवाइ यात्रा
तस्करीहरु पछिल्लो समय चीनको केरुङ जोड्ने दोश्रो ठुलो र छोटो रसुवागढी नाकातर्फ सोझिएका छन् र अवैध वस्तुसहित धमाधम पक्राउ परिरहेका छन् । नेपाल चीन र भारत जोड्ने त्रिदेशीय मार्गको रुपमा बिस्तार भइरहेको केरुङ नाका हुँदै पछिल्लो समय तस्करी हुने सामानमा पनि विशेष गरी सुन तस्करी हुने क्रम बढ्न थालेको हो । पक्राउ परेकाको बयान र प्रहरी अनुसन्धानले चीनसँगै दुबई र हङकङ अवैध सुनको मुख्य स्रोत देखिन्छ । पछिल्लो समयमा सुन तस्करीमा चिनियाँ नागरिक बढी सक्रिय देखिएको छ । स्थल नाका केरुङ बढी सक्रिय देखिन्छ ।

२ वर्षअगाडि आएको शक्तिशाली भूकम्पले तातोपानी नाका ध्वस्त पारेपछि विकल्पको खोजीमा केरुङ नाका चर्चामा आयो । संविधान जारी भएसँगै असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगाएपछि इन्धनको हाहाकार कम गर्न विकल्पका रूपमा सरकारले केरुङ नाकालाई सञ्चालनमा ल्यायो । भूकम्पछि फेरि हवाई नाका सक्रिय भयो । २०७३ पुस २१ मा दुबईबाट भित्रिएको साढे ३३ किलो सुन फेला परेपछि पुनः केरुङ नाका बढी सक्रिय भएको देखिन्छ । यसबीचमा बरामद भएका अधिकांश सुनको स्रोत केरुङ देखिएको थियो । केरुङ नाका सञ्चालनमा आएसँगै काठमाडौंमा फेला पर्ने सुन केरुङबाट आउने गरेको खुल्यो भने काठमाडौंमा फेला पर्ने अमेरिकी डलर केरुङ हुँदै चीन जाने गरेको खुल्यो । २०७३ जेठ ३० मा ६ किलो सुन सहित रसुवाको टिमुरे गाविस वडा नं. ५ का २५ वर्षिय कुङजाङ तामाङ रसुवागढीबाट पक्राउ परे ।

शरिरमा सुनका पाता बाँधेर केरुङबाट नेपालतर्फ आउँदै गरेका तामाङलाई सीमानाका रसुवागढीबाट शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । २०७३ चैत्र १७ मा ६५ हजार रुपयाँको नक्कली बिल बनाएर सुन तस्करी गदै गर्दा रसुवाको धुन्चे स्थित सुरक्षा चेक जाँचको क्रममा २२ तोला अबैध सुन सहित ५ जना पक्राउ परे । त्यस्तै , २०७३ पौषमा रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागिएको सात केजी अवैध सुनसहित प्रहरीेले कलंकीबाट सिन्धुपाल्चोक लिस्तीका गाडीका चालक कुन्साङ लामा पक्राउ प¥यो । र सोमवार प्रहरीले अहिले सम्म कै ठुलो परिमाणमा ८८ किलो सुन पनि केरुङ नाका हुदै काठमाडौं भित्रिएको थियो । हो यी सुन तस्करीका घटनाहरु हेर्दा केरुङ नाका तस्करीको रुट बन्दै गएको देखिन्छ । पछिल्लो प्रकरणले त्यसलाई झनै बल र्पुयाएको छ ।



प्रतिक्रिया दिनुहोस्