Logo

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज



काठमाडौं, २१ भदौ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ।

कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि बुधबार दिउँसो त्रिविले काठमाडौं मेडिकल कलेजले पाएको अनुमति खारेज गरेको हो।

यसअघि आजै समितिले कलेजको अनुगमन गरेको थियो। जसबाट कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छानवीन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले जानकारी दिएका थिए।

बुधबार बिहान काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेका संयोजक देवकोटाले अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको स्पष्ट पारेका थिए।

उनले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा समेत नभएकाले अस्पताल बैध रुपमा संचालन नभएको पुष्टि भएको प्रतिवेदन त्रिविमा बुझाएका थिए।

त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवीन गर्न देवकोटा नेतृत्वमा विश्वविद्यालयका डा. प्रशान्त भट्ट र परशुराम कोइराला सदस्य रहेको छानबिन समिति गठन गरेको थियो। समितिले गत शनिबारबाटै छानवीन प्रक्रिया थालेको थियो।

समितिले अस्पतालको स्थलगत अनुगमन गरि तयार पारेको प्रतिवेदन त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषदलाई बुझाएको थियो। प्रतिवेदनले दिएको सुझावको आधारमा परिषदले नेशनल मेडिकल कलेजलाई कारबाही गर्दै उसलाई दिएको अनुमति खारेज गरेको हो।



प्रतिक्रिया दिनुहोस्