Logo

रौतहटमा उत्साहपूर्वक मनोनयन दर्ता



गौर (रौतहट), २१ भदौ । रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारी दर्ता भएकोे छ । विभिन्न नगरपालिका तथा गाँउपालिकामा मुख्य दलका उम्मेदवारहरुले मनोनयन दर्ताको गरेका छन् ।

प्रदेश नं. २ को सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का युवराज भट्टराईले प्रमुख र देवकी नेपालले उपप्रमुख पदका लागि मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा रामचन्द्र चौधरी र उपप्रमुखमा लक्ष्मी बरालले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा (एमाले)बाट भने उद्धवप्रसाद रेग्मीले प्रमुख र रामरति चौधरीले उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दिलीप थापा र उपप्रमुखमा सीता दाहालले मनोनयन दर्ता गराउनुभएको छ । स्वतन्त्रबाट चन्द्रपुर नगरपालिकाको प्रमुखमा मुकेश कुमार मिश्रा, शेख महम्द अनवारुल हक, गणेश कार्की, विजय घिमिरेले मनोनयन दर्ता गराएको चन्द्रपुर नगरपालिकाका निर्वाचन अधिकृत कमलराज भण्डारीले बताउनुभयो ।

यता रौतहटको सबै भन्दा पुरानो गौर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले नगर प्रमुखको उम्मेदवारी दिएनन । राजपाबाट गौर नगर प्रमुखको लागी अजय गुप्ता, एमालेबाट शम्भु साह, मधेशी जनअधिकार फोरमबाट अर्चना यादव फोरम लोकतान्त्रिकबाट गौरीशंकर यादवले उमेदवारी दर्ता गराएका छन ।

स्वतन्त्रबाट तिन जनाले मेयरमा उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै बौधीमाइ नगरपालिकामा पनि शान्तिपुर्ण रुपमा उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । उक्त नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा प्रदिप यादब,उप प्रमुखमा इन्दु मिश्र,राजपाबाट प्रमुखमा राजाबाबु जयसवाल लगायतकाले उमेदवारी दिएका छन । रौतहटमा कुल २ सय ७७ मतदान स्थल तोकिएको छ भने ४ सय ३४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । १८ स्थानीय तहमा जम्मा ८ सय २१ पदाधिकारीको निर्वाचित हुनेछन् । तेश्रो चरणको स्थानीय तह निर्वाचनमा रौतहटमा १८ मेयर, १८ उपमेयर, १ सय ५७ वडा अध्यक्ष र ६ सय २८ सदस्य स्थानीय तहमा निर्वाचित हुनेछन । रासस



प्रतिक्रिया दिनुहोस्